हिउँले ल्याएको भारी खुशी

7.33K
shares

जाजरकोट । बर्सेनि हिउँदेबाली लगाएर परिवार पाल्दै आएका मुड्केचुला गाउँपालिका–६ का सन्तोष सिंह यो वर्ष भने भारी खुशी भएको छ ।

उनले लगाएको गहुँ, जौ र अन्य तरकारीबाली सिँचाइको अभावमा सुक्न थालेको थियो । आकाशे पानीका भरमा लगाइएको हिउँदेबाली सुक्न थालेपछि दुःखी भएका सिंहको हिमपाले एकै पटक खुशी थपिदियो ।

उनले भने, “अघिल्ला वर्षभन्दा यो वर्ष समयमै हिमपात हुँदा खेतबारीमा लगाएको अन्नबाली सोचेकै जस्तै गरी उत्पादन हुने पक्का भएको छ ।” खेती लगाएर सिँचाइ सुविधा नभएपछि निरास भएका नर्कुका हरिबहादुर सिंहलाई पनि खुशीको सीमा छैन ।

उनले भने, “अघिल्लो वर्ष बीउसम्म उठेको थिएन, यो वर्ष समयमै हिमपात भएपछि साचेको आम्दानी हुने भयो, अब घरपरिवारका लागि बाहिरबाट खाद्यान्न ल्याउनु नपर्ने पक्का भएको छ ।” बर्र्सेनि सर्मीस्थित खाद्य डिपोबाट खाद्यान्न ल्याएर दैनिक छ जनाको परिवार पाल्दै आएका सिंह हिमपातले उत्पादन वृद्धि हुने भएपछि खुशी भएको हो ।

त्यस्तै बारेकोट गाउँपालिका–५ पाखामा लगाइएको गहुँबाली सप्रिने भएपछि यहाँका कृषक खुशी भएका छन् । सिँचाइको अभावमा बर्सेनि समस्या भोग्दै बारेकोटवासी हिमपातसँगै सिँचाइको माग पूर्ति भएपछि हौसिएका छन् । पाखावासीले सिँचाइका लागि सबै तहका जनप्रतिनिधिलाई ध्यान आकर्षण गराए पनि माग पूरा नभएको भन्दै पाखावासी पीडा पोख्दै आएका छन् ।

जिल्लाका अधिकांश ठाउँमा सिँचाइको अभावमा कतै जमीन बाँझै रहेका छन् भने कतै लगाइएको बाली सुक्न लाग्दा हिमपात हुँदा कृषकमा खुशी थपिएको हो । नलगाड नगरपालिका–८ मेघाचौरमा हिउँदेबालीका रुपमा लगाइएको गहुँबाली समयमै हिमपात हुँदा रुप फेरिएको छ । उच्च पहाडमा भारी हिमपात भएपछि कृषकको अन्नबालीमा सिञ्चित हुँदा हराभरा भएको स्थानीयवासी मनिलाल खत्रीले बताए ।

बर्सेनि सिँचाइको सुविधा नभएका कारण आकाशेपानीका भरमा हिउँदेबाली लगाइने गरिन्छ । दुई वर्षअघि हिउँदेबाली लगाएको लामो समयसम्म पानी नपर्दा मष्ट देवतालाई बोका नै भाकल गर्नुपरेको सुनाउँदै नलगाड नगरपालिका–११ का अशोक सिंह भन्नुहुन्छ, “गाउँको तल भेरी नदी छ, तर माथि खेतबारी बाँझै छन् कस्तो पीडा होला हाम्रो रु तर यो पटक हाम्रो गाउँमै हिमपात भयो, अब उत्पादन बढ्ने भएको छ ।”


unigloble collage
baneshwor multiple campus ad -2083