बाबुको काजकिरिया गर्दै छोरी

7.19K
shares

कनकाई । परम्परावादी सोचले हाम्रो समाज अझै पनि अन्धविश्वास र रुढिवादीले जेलिएको छ । पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति सजिलो भए पनि व्यावहारिकरुपमा प्रयोगमा ल्याउन त्यति सहज छैन । समाजमा मर्दापर्दा होस् या कुनै पनि शुभकार्य गर्दा होस् पुरानै सोचका साथ समाज अझै पनि चलिरहेको छ तर झापाको कनकाईमा नाबालक दुई छोरीले कपाल फालेर सेतो बस्त्रमा बाबुको काजकिरिया गर्दै छन् ।

छोरीले कपाल फालेर छोरासरह नै काजकिरिया गरेको देख्दा समाजमा धेरै चर्चा हुन थालेको छ । यो क्षेत्रमा छोरीले बाबुको काजकिरिया गरेको बिरलै घटना भएकाले पनि केहीले आश्चर्य मान्दै हेर्न आउने गरेका पनि छन् । बिर्तामोड–२ चैतुवारीका ३९ वर्षीया टीकाराम खनालको पुस १५ गते निधन भएपछि उ नको छोरा नभएका कारण जेठी छोरी १४ वर्षीया जुनु भावना र कान्छी छोरी आठ वर्षीया जेनी सीता ले आफ्नो बाबुको पार्थिक शरीरमा दागबत्ती दिएर हिन्दूधर्म परम्पराअनुसार काजकिरिया गरिरहेका छन् ।

आफ्ना दाजुभाइ नभएपछि बुबाको काजकिरिया गर्ने आफ्नै जिम्मेवारी भएको ठहर गर्दै दिदीबहिनी किरियामा बसेको जुनुले बताए । “अभिभावकका लागि छोराछोरी दुवै बराबरी हुन्, समाजको हेर्ने दृष्टिकोण सङ्कुचित रहेकाले अनौठो लागेको हुन सक्दछ”, जुनुले भने, “बुबाले छोरासरह नै काम गर्नु, छोरी हुँ भनेर कहिल्यै पनि पछाडि नहट्नु भनेको बताए ।”

बाबुको अर्ति उपदेशलाई अनुशरण गर्दै समाजको पुरानो मान्यता हटाएर बाबुको नाममा हिन्दू परम्पराअनुसार काजकिरिया गरिरहेको उनले बताए । खनालको निधनपछि काजकिरियामा दाजुभाइ नहुँदा एकान्तटोल समाज विकास संस्थाले संरक्षण दिएर सामुदायिक भवन निःशुल्करुपमा उपलब्ध गराई १३ दिनसम्मको काजकिरिया भइरहेको संस्थाका अध्यक्ष भीम खरेलले बताए ।

काजकिरियाको कर्म गराउँदै आउनुभएका ब्राह्मण कैलाश न्यौपानेलाई दुर्गापुरस्थित उहाँको निजी निवासमा सात जनाको समूहमा आएका नकापधारीले काजकिरिया गराएको विषयलाई लिएर हातपात गरेको छ । धर्मशास्त्रभन्दा बाहिर गई नियम मिचेर किन छोरीलाई काम गराएको भन्दै आफूलाई छातीमा समाएर हप्काएको न्यौपानेले बताउनुभयो । कुनै दाजुभाइ खोजेर काजकिरियामा राख्नुपर्ने भन्दै उनीहरुले दबाब दिएको उहाँले बताउनुभयो ।

मोटरसाइकलमा आएका ती अपरिचित व्यक्तिमध्ये एक जनाको लामो टुप्पी पनि आफूले देखेको हुनाले ब्राह्मण समुदायकै समूह आएको हुनसक्ने आफूले अनुमान गरेको न्यौपानेको भनाइ छ । समाजमा आइपरेको अप्ठ्यारो अवस्थामा मानवीय सहयोग गर्नु आफ्नो दायित्व सम्झेर गरेको काममा विभिन्न धार्मिक सङ्घसंस्थाबाट समेत सहयोग हुनुपर्ने भन्दै न्यौपानेले आफूमाथि भएको आक्रमणका विषयमा दुःख व्यक्त गर्नुभएको छ ।


divya collage
unigloble collage