बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढ्दै

5.59K
shares

रसुवा । 

जिल्लामा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै गएको छ । ग्लोबल आइएमई बैंक धुञ्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार जिल्लाको बेत्रावतीदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म आर्थिक कारोवार गर्ने बैंक संस्थाको सङ्ख्या २७ पुगेको छ ।

ग्लोबल आइएमई चार, नेपाल बङ्गलादेश दुई, सानीमा एक, एनएमबी दुई, बैंक अफ काठमाडौँ एक, इन्भेष्टमेन्ट एक, माछापुच्छ्रे« एक, सनराइज एक, प्रभु बैंकको तीन शाखा जिल्लामा कारोवार गरिरहेका छन् ।

यसैगरी अन्य बैंकमा आइसीएफसी फाइनान्स एक, प्राइम एक, लुम्बिनी विकास एक, ज्योति विकास एक, हिमालयन एक, मेगा एक, सिद्धार्थ एक, एनआइसी एकसमेतका बैंक शाखा स्थापना भइसकेका छन् ।

नेपाल बैंक, कृषि विकास र पछिल्लो समय खोलिएको राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । ग्रामीण भेकमा भने कुमारीले आमाछोदिङ्मो गाउँ पालिकाको चिलिमे थाम्बुचेत, ग्लोबल आइएमईले नौकुण्ड गाउँ पालिकाको पारच्याङ र प्रभु बैंकले मानव बस्तीको अन्तिम विन्दु मानिने पर्यटकीय क्षेत्र लाङटाङको क्याङ्जेनमा सेवा दिइरहेका छन् । स्थापित अन्य सबै बैंक राजमार्गको सेरोफेरोलाई केन्द्रित रहेका छन् ।

बयालिस हजार स्थानीय बासिन्दामाझ नेपाल बैंकले बचत जम्मा तथा भुक्तानीको सेवा प्रदान गरिराखेको छ । अधिकांश बैंकको दैनिक कारोवार न्यून रहेका कारण प्रायजसो बैंकले ऋण प्रवाहतर्फ बढी केन्द्रित भई किसानलाई जग्गा जमिनको धितो जमानतमा ब्याजी ऋण दिन थालेको स्थानीयवासीले बताएका छन् ।

अहिले सञ्चालनमा रहेका प्राय बैंक संस्था बेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुबेँसी र सीमावर्ती क्षेत्र टिमुरेमा केन्द्रित रहेका छन् । विभिन्न पेशाबाट ग्रामीण किसानको आयवृद्धि गराउन बैंकले ऋण प्रवाह गर्ने क्रममा धितोबन्धक दिने किसानको सङ्ख्या भने ३९९ पुगेको मालपोत कार्यालयले जनाएको छ ।
लाङटाङमा विद्युत् विस्तार तीव्र

लाङटाङको पर्यटकीय क्षेत्र र पवित्र धार्मिकस्थल गोसाइँकुण्डलाई केन्द्रित गरी विद्युत् विस्तारका कार्य धमाधम अगाडि बढिरहेको छ । नेपाल विद्युत् प्राधिकरण शाखाका प्रमुख कृष्णहरि दाहालका अनुसार लाङटाङ क्षेत्रका लागि वृद्धिमदेखि लामा होटलसम्म १९ किलोमिटर विद्युत् लाइन विस्तार भइसकेको र लामा होटलदेखि लाङटाङ गाउँसम्म थप छ किलोमिटरको दूरीको लाइन तान्ने काम भइरहेको छ ।
हरेक स्थानमा पूर्णविद्युतीकरण गरी प्रत्येक नागरिकका घर उज्यालो पार्ने वर्तमान सरकारको नीति कार्यान्वय गर्न र पर्यटकीय गन्तव्यका रूपमा रहेका बस्तीलाईमा विद्युत् विस्तारको काम तीव्ररूपमा अगाडि बढाइएको शाखाले जनाएको छ ।

पवित्र तीर्थ गोसाइँकुण्ड जाने भक्तजनको सुविधाका लागि धार्मिक मार्गअन्तर्गत चन्दनबारीसम्म विद्युत् विस्तार गरिसकिएको र लाङटाङ क्षेत्रको कार्य पूरा भएपछि विद्युत् प्रवाह गरिने उक्त शाखाले जनाएको छ ।

नयाँ विस्तार भएको तारबाट विद्युत् प्रवाह एवं वितरण गर्दासाथ एकातर्फ रातको समयमा घर उज्यालो हुने, अर्कोतर्फ विद्युतीय हिटरबाट खाना पकाउने बानीको विकाससँगै वन जङ्गलको व्ययभारमा कमीआई जैविकविविधता संरक्षणमा टेवा पुग्ने प्राधिकरण शाखाका प्रमुख दाहालले जानकारी दिनुभयो ।

यसैगरी जिल्लाका सबै गाउँ बस्तीमा विद्युत् विस्तार भइसकेको र भूकम्पपछिको पुनः निर्माणअन्तर्गत उत्तरगया गाउँपालिका–१ तिरू क्षेत्रमा एकीकृत बस्ती निर्माणका लागि प्रक्रिया अगाडि बढेको स्थानमा समेत विद्युत् लाइन विस्तार भइरहेको बताइएको छ ।

घरघरमा विद्युत् लाइन विस्तार गर्ने ग्राहक सङ्ख्या आठ हजार ५०० रहेको प्रधिकरणले जनाएको छ । विसं २०४० बाट नुवाकोटको त्रिशूलीदेखि रसुवा जिल्लामा विस्तार शुरू गरिएको विद्युत् सेवाले ३६ वर्षको दौरानमा ढिलै भए पनि हिमाली क्षेत्रका गाउँगाउँमा विद्युत् प्रवाह हुँदा जिल्लावासी हर्षित भएको नागरिक समाजले जनाएको छ ।

विद्युत् पुग्नुअघि दियालो र टुकी बत्तीको भरमा निर्वाह गरिबस्ने ग्रामीण क्षेत्रका बासिन्दा बत्तीको व्यवस्था भएलगत्तै व्याट्री चार्जको सहजताले अहिले प्रायजसोले मोबाइल लिन थालिसकेका छन् । आफ्ना नातागोतालाई मोबाइलबाटै सन्चो बिसन्चोका कुरा सोध्ने वातावरण सिर्जना भएको लाङ्वुका सामाजसेवी छेसाङदावा तामाङले बताउनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083