थवाङमा खुलेको पासाङको त्यो मुस्कान (फोटो फिचर)

२०७६ फागुन ११ आइतवार
1.9K
shares
रोल्पा ।
डेढ दशकअघि जनमुक्ति सेनाको कमाण्डरका रुपमा थबाङमा भेटिने कमरेड पासाङ आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनका रुपमा पुग्नुभएको छ। कुनै बेलाका ‘कमरेड पासाङ’ ‘उपराष्ट्रपति नन्दबहादुर पुन’ भइसकेपछि आइतबार पहिलोपटक थबाङमा पाइला टेक्नुभएको हो।
७ वर्षपछि थबाङ पुग्नुभएका पासाङ आफ्ना पुराना सहकर्मीहरुसँगको भेटमा निकै उत्साहित र खुसी देखिनुहुन्थ्यो। उहाँको अनुहारमा देखिएको मुस्कान र चमकले पनि उहाँको खुसी प्रष्टै झल्किन्थ्यो।
माओवादी जनयुद्धको उद्गम तथा आधार क्षेत्रका रुपमा परिचित थबाङमा कमरेड पासाङको भूमिकामा रहँदा उहाँ कयौं दिन थबाङ र थबाङी जनतामाझ बिताउनुभएको थियो। आइतबार फरक भूमिकामा थबाङ पुग्दा उहाँलाई कता–कता अनौठो उत्साह पैदा हुनुका साथै विगतको यादले पनि झक्झक्यारहेको थियो सायद ।
थबाङका गल्ली–गल्लीमा हिड्दै गर्दा भने उहाँ केही भावुक र केही गम्भीर भएको उहाँको अनुहारले देखाउँथ्यो। आइतबार थबाङस्थित बीर बलभद्र माविलाई नमूना विद्यालय घोषणा गर्ने कार्यक्रममा उपराष्ट्रपति पुन थबाङ जानुभएको छ।
साथमा ऊर्जामन्त्री वर्षमान पुन र शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई साथमा लिएर जानुभएका उपराष्ट्रपति पुनले थबाङको विकास निर्माणका बारेमा पनि चासो राख्नुभएको छ। कार्यक्रममा नेकपा प्रदेश–५ की अध्यक्ष तथा पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री दलजित श्रीपालीलगायतको टोली पनि थबाङ पुगेको छ।
थबाङ पुगेको उपराष्ट्रपति सहितको टोलीलाई बाजागाजासहित स्वागत गरिएको छ। उपराष्ट्रपति पुनले आफू सात वर्षपछि थवाङ आएको बताउनुभयो। ‘थबाङको परम्परागत स्वरुपमा धेरै परिवर्तन आएको अनुभूति गरेको भन्दै उपराष्ट्रपति पुनले भन्नुभयो, ‘सात वर्षअघि म यहाँ आउँदा सडक थिएन, अहिले फराकिलो सडक बनिसकेछ। थुप्रै विकासका काम भइरहेका रहेछन्, खुसी लाग्यो।’
अहिले थबाङका अधिकांश भागमा सडक सञ्जाल बिस्तार भइसकेको छ भने ऊर्जामन्त्री वर्षमान पुनको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत थवाङलाई लक्षित गरी थवाङ गाउँपालिका–१ स्थित विवाङमा १ सय ५० किलोवाट जडित क्षमताको सोलार प्लान्ट निर्माणको काम भइरहेको छ।
सोलार प्लान्टको आगामी जेठसम्ममा आयोजनाको निर्माण सम्पन्न हुने लक्ष्य रहेको बताइएको छ।
साभार : दैनिक अनलाइन

२०७६ फागुन ११ आइतवार