पार्टी फुट्न पनि सक्छ, तपाईहरु तयार रहनुस”- प्रधानमन्त्री ओली
वि.सं.२०७७ वैशाख १६ मंगलवार १५:४६
shares

काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती भएको भए आफू सच्चिन तयार हुँदा पनि पार्टीका नेताहरुले आफूलाई हटाउन लागेको बताएका छन्।
आफू निकट सांसदहरुलाई सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार बोलाएर ओलीले अन्य नेताहरुले वार कि पारकै रणनीति अपनाएको हुँदा पार्टी विभाजन हुनसक्ने सभावना रहेको बताएका थिए।
‘साथीहरु वार की पारको तरिकाले लाग्नु भएको छ। मंगलबार सचिवालयको बैठक पनि हुँदैछ। तीन चार दिनमा सबै कुरा टुङ्गो लाग्नसक्छ। पार्टी विभाजन पनि हुनसक्छ। त्यस्तो अवस्थाका लागि समेत तपाईहरु मानसिकरुपमा तयारी अवस्थामा रहनुहोला,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सांसद विजय सुब्बाले भने, ‘विपक्षी दल हटाउन लाग्नु स्वभाविक नै हो। मलाई त हटाउन पार्टीका साथीहरुबाटै सबैतर्फबाट घेराबन्दी गरियो। कहि कतै गल्ती भएको रहेछ भने केके काम हो सच्चाउछु भन्दाभन्दै पनि साथीहरु हटाउनै लाग्नुभएको छ।’
प्रधानमन्त्रीले पार्टी फुट्न नदिन आफूले पुरै प्रयास केन्द्रीत गरेको बताएको सुब्बाले बताए।
बैठकमा प्रधानमन्त्रीले आइपर्ने चुनौतिहरु सामना गर्न आफू तयार रहेको बताएका थिए।
करिब २५ जना सांसद उपस्थित रहेको सो भेलामा पूर्व माओवादीका नेता तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि सहभागी थिए।
बैठकमा मन्त्री भट्टले गल्ती कमजोरीलाई सच्चाउनु पर्ने तर अहिले नै सरकारको नेतृत्व परिवर्तन गर्न नहुने पक्षमा रहेको बताए थिए।
प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्व महाधिवेशनबाटै तोकिएको बताए।
‘अन्य साथीहरुलार्ई चाँडै महाधिवेशन गरौं भन्दा पनि मान्नु भएको छैन,’ प्रधानमन्त्री उद्धृत गर्दै सुब्बाले भने।
भेलामा प्रधानमन्त्री ओलीले कसैले माग्दैमा राजिनामा नदिने बताएका थिए।
‘कसैले माग्दैमा राजिनामा दिन्न। पार्टीको अध्यक्ष र प्रधानमन्त्री म हो। त्यसको पनि प्रक्रिया हुन्छ। त्यो सामना गर्न म तयार छु,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सांसद सरिता न्यौपानेले भनिन्, ‘म पार्टी पनि विभाजन गर्दिन र संसद पनि विघटन गर्दिन तपाईहरु ढुक्क हुनुहोस।’
सल्लाह गरेरै अध्यादेश ल्याएको तर नेताहरुले विरोध गरेपछि फिर्ता लिएको भन्दै ओलीले भने, ‘फिर्ता लिँदा पनि साथीहरुले विरोध गर्न छाड्नु भएको छैन। उहाँहरुले कहाँसम्म लैजान खोज्नु भएको हो थाहा छैन। पार्टी विभाजनको अवस्थामा पनि पुग्नसक्छ।’
न्यौपानेका अनुसार सरकारबाट भएको गल्ती कमजोरी भए देखाइदिनका लागि प्रधानमन्त्रीले सांसदहरुसँग आग्रह समेत गरेका थिए।
‘सन्धि सम्झौता गर्दा र विकास निर्माणका काम गर्दा कुनै प्रकारको गल्ती कमजोरी भएको भए तपाईहरु पनि देखाउनुहोस, सच्चाएर अघि बढ्छु,’ प्रधानमन्त्रीले सांसदहरुसँग भनेका थिए।
बैठकमा सांसदहरुले सचिवालयबाट विवाद नटुङिगए स्थायी समितिमा होइन, सिधै केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गरेको न्यौपानेले बताइन्।
सो भेलामा विजय सुब्बा, नवराज सिलवाल, खेम लोहनी, तिलक महत, कृष्ण राई, गणेश ठगुन्ना, प्रेम आले, सरिता न्यौपानेसहितका सांसदहरुले धारणा राखेका थिए। नेपालखबरमा मणि दाहालले यो समाचार लेेेेखेका छन् ।































