निःशुल्क खानाको व्यवस्था
वि.सं.२०७७ वैशाख १८ बिहीवार १४:४९
shares

लहान ।
नेकपाका नेता तथा प्रदेश नं २ का प्रदेशसभा सदस्य मदनसेनप्रसाद श्रीवास्तवले व्यक्तिगत सहयोगमा विपन्न तथा गरिब परिवारलाई निःशुल्क खानाको व्यवस्था गर्नुभएको छ ।
जारी लकडाउनले समस्यामा परेका विपन्न, मजदुर र गरिब परिवारका व्यक्तिलाई सिरहाको सुखीपुर नगरपालिकास्थित रामजानकी मन्दिर परिसरमा उहाँले आजदेखि मेस सञ्चालन गरी निःशुल्क खानाको व्यवस्था गर्नुभएको हो ।
विपन्न नागरिक तथा पैदलयात्रीलाई आजदेखि वैशाख २५ गतेसम्म बिहान र साँझ गरी दुई पटक निःशुल्क खाना व्यवस्था मिलाउने उहाँले जानकारी दिनुभयो ।
काठ बरामद
सिरहाको गोलबजार नगरपालिका–७ कदिमाटोलबाट वन कर्मचारीको टोलीले अवैध काठ बरामद गरेको छन् । डिभिजन वन कार्यालय लहान र सवडिभिजन वन कार्यालय गोलबजारबाट खटिएको वन कर्मचारीको टोलीले स्थानीय रामदयाल महतोको घर पछाडि खाल्टो खनेर गाडिएको अवस्थामा ५० क्यूबिफिट काठ बरामद गरेको हो ।
महतोको घर पछाडि हरियो सालको रुख कटान गरी माटोभित्र गाडिएको गोप्य सूचनाका आधारमा उक्त काठ बरामद गरिएको डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो । महतो फरार रहेको र उहाँको खोजतलास भइरहेको प्रमुख दासले बताउनुभयो ।
शव फेला
सिरहाको नरहा गाउँपालिकामा आज झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ । नरहा गाउँपालिका–५ बलुवा टोल निवासी ४५ वर्षीय दरी यादवको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।
गाउँको पूर्वपट्टि खेतमा रहेको आँपको बोटमा घाँटीमा डोरी लगाई झुन्डिएको अवस्थामा यादव फेला परेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि सिरहा अस्पताल ल्याएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
































