विश्वभर काेराेना संक्रमणबाट २ लाख ४८ हजारकाे ज्यान गयाे
वि.सं.२०७७ वैशाख २२ सोमवार ११:३०
shares

काठमाडौं । विश्वमा काेराेना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या साेमबार बिहानसम्म २ लाख ४८ हजार १ सय ५ पुगेकाे छ । संक्रमणाबाट गएकाे २४ घण्टामा मात्रै ३ हजार ५ सय ९ ले जीवन गुमाएका छन् ।
विश्वका २ सयभन्दा बढी मुलुक फैलिइसकेकाे काेराेना भाइरसकाे संक्रमणका कारण मानिसकाे ज्यान जाने क्रम जारी छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ ।
विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चाैथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । विश्व स्वास्थ्य संगठनकाे पछिल्लाे अपडेट अनुसार ३५ लाख ६२ हजार ६ सय ५१ जना काेराेनाभाइरसबाट संक्रमित भएका छन् ।
संक्रमित मध्ये ११ लाख ५३ हजार ७१ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब २० लाखकाे स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ११ लाख ८७ हजार ५ सय १० जना संक्रमित भएका छन् । त्यस्तै ६८ हजार ५ सय ८१ जनाको संक्रमणबाट ज्यान गएको छ भने १ लाख ७८ हजार २ सय ६३ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । १६ हजार १ सय ३९ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । अहिलेसम्म भाइरसको संक्रमणबाट अमेरिकामा सबैभन्दा बढी संक्रमितको ज्यान गएको छ ।
चीनमा ८२ हजार ८ सय ७ठ जनामा संक्रमण देखिएकोमा ७७ हजार ७ सय १३ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएको चीनमा ३४ जना अझै गम्भीर अवस्थामा रहेको जनाइएको छ । विगत २४ घण्टामा चीनमा कोरोना संक्रमणाका कारण कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै २४ घण्टामा २ जना नयाँ संक्रमित फेला परेकाे जनाइएकाे छ ।
नेपालमा अहिलेसम्म ७५ जनामा संक्रमण देखिएको छ । १६ जना पूर्ण स्वस्थ भई घर फर्किएका छन् भने बाँकीकाे जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।









