लकडाउनमा रोकिएन भ्रष्टाचार, अख्तियारमा बढ्यो अनलाइन उजुरी

6.24K
shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) मा अनलाइन उजुरी दिनेहरूको संख्या बढेको छ । कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन बेला पनि पनि उजुरीमा कमी नआएको अदुअआ प्रवक्ता प्रदीपकुमार कोइरालाले अनलाइनखबरलाई बताए ।

‘अधिकांश उजुरी अनलाइनबाट आएका छन्’ कोइराला भन्छन्, ‘लकडाउनका कारणले होला, अनलाइन उजुरी ह्वात्तै बढेको छ ।’इमेल, वेभसाईट, फेसबुक, भाइबर, ट्विटर, हटलाइन र टोलफ्री नम्बरबाट अदुअआमा उजुरी गर्नेको संख्या बढेको हो ।

कूल उजुरी बढ्न सक्ने

अदुअआले कञ्चनपुर, सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, हेटौडा, बर्दीवास, इटहरी र टंगालस्थित कार्यालयबाट उजुरी लिन्छ । गत आर्थिक वर्षमा सबै कार्यालयमा गरेर १६ हजार ९९७ उजुरी परेका थिए । जसमध्ये सबैभन्दा बढी टंगालस्थित प्रधान कार्यालयमा ९ हजार ८५५ उजुरी परे ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रधान कार्यालयमा मासिक औसत ८२१ उजुरी परेका थिए । त्यहाँ यसपटक बैशाखको पहिलो दुई हप्तामै ५०० भन्दा बढी उजुरी परेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

‘महामारीमा मह चाट्न खोज्ने बढे’

ओम्नी समूहमार्फत चीनबाट दशौं गुणा बढी मूल्यमा स्वास्थ्य सामग्री खरिद गरिएको भन्दै अदुअआमा दुईवटा उजुरी परेका छन् । बागमती प्रदेश सांसद तथा विवेकशील नेपाली दलका नेता रमेश पौडेल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उपप्रधानमन्त्री, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिवलगायत विरुद्ध छुट्टाछुट्टै उजुरी दिएका हुन ।

अदुअआ स्रोतका अनुसार लकडाउनका बेला परेका उजुरीहरू स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण, राहत वितरणसँग सम्बन्धित छन् । केही उजुरी काठ तस्करी, गिटी बालुवा उत्खनन्सँग सम्बन्धित छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालका अध्यक्ष खेमराज रेग्मी कोभिड-१९ महामारीका बेला भ्रष्ट मानसिकता भएकाहरूले मौकामा चौका हान्न खोजेको बताउँछन् ।

‘सबैको ध्यान कोरोनामा केन्द्रित हुन्छ, जति लुटे पनि कसैले विरोध गर्दैन भन्ने प्रवृत्तिले गर्दा भ्रष्टाचार बढेको देखिन्छ’ अध्यक्ष रेग्मी भन्छन्, ‘भ्रष्टाचार भएको नजिकबाट थाहा पाउनेले उजुरी दिएको हुन सक्छ ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083