पत्रपत्रिका वितरण थालनी

15.54K
shares

बागलुङ ।  बन्दाबन्दी खुकुलो पारिएपछि प्रकाशकले पत्रपत्रिकाको प्रकाशन र वितरण शुरु गरेका छन् । कोरोनाको जोखिमले अपर्झट बन्दाबन्दी भएपछि पत्रपत्रिका छापिन सकेका थिएनन् । यस बीचमा प्रकाशकले पत्रिकाको ‘पिडिएफ’ लाई अनलाइन र सामाजिक सञ्जालमार्फत पाठकलाई उपलब्ध गराएका थिए । पत्रिकाको डिजिटल संस्करण पनि प्रभावकारी बनेको थियो ।

बागलुङ र पोखराबाट एकसाथ प्रकाशित हुने ‘ढोरपाटन राष्ट्रिय दैनिक’ आइतबारदेखि पोखरामा पूर्ववतरूपमा वितरण हुन थालेको छ । ढोरपाटन सञ्चार प्रालिद्वारा प्रकाशित उक्त पत्रिका आजदेखि बागलुङ, पर्वत र म्याग्दीमासमेत वितरण हुनेछ ।

“आवश्यक सुरक्षा सावधानी अपनाएर वितरण शुरु गरेका छौँ”, पत्रिकाका सम्पादक हरिनारायण गौतमले भन्नुभयो । बागलुङबाट प्रकाशित ‘धौलागिरि जागरण दैनिक’ को वितरण पनि आइतबारदेखि शुरु भएको छ । प्रकाशक आदर्श सञ्चार सहकारी संस्थाले वितरकलाई अनिवार्य मास्क, सेनिटाइजर र पञ्जा प्रयोग गर्न भनेको छ ।

घर, पसल, वित्तीय संस्था र कार्यालयमा भौतिक दूरी कायम गरी वितरणको व्यवस्था मिलाइएको प्रकाशकले जनाएका छन् । वितरकलाई सकभर बाहिरैबाट पत्रिका दिन लगाइएको छ । साप्ताहिक पत्रिकाले पनि अर्को साताबाट वितरणलाई निरन्तरता दिने भएका छन् । गुहेली सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित ‘जननिगरानी साप्ताहिक’ को प्रकाशन आइतबारदेखि शुरु भए पनि वितरण भने आउँदो सातादेखि गरिने जनाएको छ ।

पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले पत्रपत्रिकाको प्रकाशन र वितरण नियमित हुनुलाई सुखद मान्नुपर्ने बताउनुभयो । उहाँले सुरक्षा उपाय अपनाएर विस्तारै सबै काममा फर्कनुपर्ने धारणा राख्नुभयो । “कोरोनाको जोखिम अझै लम्बिन सक्छ, के सधँै बन्दाबन्दी गरेर बस्ने रु अब विकल्पमा जानुपर्छ, उच्च सावधानी अपनाऔँ, भौतिक दूरी कायम गरौँ”, उहाँले भन्नुभयो ।

सरकारले शुक्रबारदेखि बैंक, वित्तीय संस्था, उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा लचकता अपनाएपछि पत्रपत्रिका वितरणमा पनि सहजता थपिएको हो । कोरोनाका कारण सिर्जित लामो अवरोधपछि हकर अखबार बोकेर ग्राहक÷पाठककहाँ पुगेका छन् ।

पत्रकारलाई सुरक्षा सामग्री

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल पत्रकार महासङ्घ बागलुङ शाखालाई ५० थान प्रेस ज्याकेटसहित सुरक्षा सामग्री प्रदान गर्नुभएको छ ।

उहाँले आइतबार ज्याकेटसँगै २०० थान सर्जिकल मास्क र १५ लिटर स्यानेटाइजर शाखा अध्यक्ष शिरीषलाई हस्तान्तरण गर्नुभयो । कोरोनाको जोखिमबीच कार्यक्षेत्रमा खटिने पत्रकारको सुरक्षाका लागि सामग्री सहयोग गरेको शेरचनले बताउनुभयो ।

सङ्कटका बेला गृह जिल्लाप्रतिको दायित्व सम्झेर आफूले स्थानीय तह, अस्पताललगायतलाई स्वास्थ्य सामग्री प्रदान गरेको उहाँको भनाइ थियो । जोखिम मोलेर समाचार सङ्कलन, सम्प्रेषणमा सक्रिय पत्रकार/सञ्चारकर्मीको उहाँले प्रशंसा गर्नुभयो । शाखा अध्यक्ष शिरीषले पत्रकारको व्यक्तिगत सुरक्षालाई दृष्टिगत गरी गरिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

सहयोगस्वरुप प्राप्त भएको ज्याकेट र अन्य सुरक्षा सामग्री जिल्लाभर क्रियाशील पत्रकारसमक्ष पु¥याइने शाखाले जनाएको छ । कार्यक्रममा उपस्थित पत्रकारलाई आइतबार सामग्री प्रदान वितरण गरिएको थियो । सदरमुकामबाहिर सक्रिय पत्रकार÷सञ्चारकर्मीलाई अन्य माध्यमबाट पठाइने अध्यक्ष शिरीषले बताउनुभयो ।

यसअघि पनि पत्रकार महासङ्घ गण्डकी प्रदेश, नेपाल प्रेस युनियन, रोट्र्याक्ट क्लब बागलुङलगायतका सङ्घसंस्थासँग मिलेर शाखाले जिल्लाका पत्रकारलाई मास्क, स्यानेटाइजर र पञ्जा वितरण गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083