नयाँ आवश्यकता र सोचका आधारमा बजेट ल्याउन नेता श्रेष्ठको सुझाब
वि.सं.२०७७ वैशाख २९ सोमवार १२:४५
shares

काठमाडौं ।
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले अहिलेको आवश्यकता र नयाँ सोचका आधारमा बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारलाई सुझाब दिएका छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्ष ०७७–७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा नयाँ आवश्यकता र नयाँ सोचका आधारमा सरकारले बजेटमा प्राथमिकता निर्धारण गर्नुपर्ने बताए ।
कोभिड– १९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमबाट परेको आर्थिक प्रभावलाई मध्यनजर गरी बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिनुपर्ने उनको सुझाब छ ।
वर्तमान आवश्यकतालाई मध्यनजर गर्न नसक्दा यसअघिका बजेटझैँ हुने भएकाले अहिलेको आवश्यकताअनुसार प्राथमिकतासाथ बजेट ल्याउनुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘प्राथमिकता अमूर्त हुन खोज्दै छ । प्रिबजेट छलफलमा आएको त्यो वक्तव्य हेर्दा त्यस्तो देखिँदै छ । त्यसैले प्राथमिकता स्पष्ट हुनुपर्छ । कोभिड– १९ रोकथाम नियन्त्रण र उपचार, विपत् जोखिम न्यूनीकरण व्यवस्थापनका निम्ति आवश्यक व्यवस्थामा ध्यान हुनुपर्छ । त्यसको सेरोफेरोमा हामी मुक्ति पाइसकेका छौँ भन्ने ठान्नुहुन्न । यो दिशातर्फ जानुपर्छ ।’
उनले थपे, ‘निरन्तरताको बजेट हुनुहुँदैन । नयाँ आवश्यकता, नयाँ सोच र नयाँ मोडलको बजेट हुनुपर्छ ।’




























