नयाँ नक्साको समर्थन गर्दा मनिषालाई गाली र समर्थन

9.82K
shares

काठमाडौं । नेपाली चेली तथा लोकप्रिय बलिउड अभिनेत्री मनीषा कोइरालाले कालापानी लिपुलेकलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेकोमा स्वागत गर्दै आफ्नो ट्वीटर अकाउन्टमा ट्वीट गरेपछि त्यसको पक्ष र विपक्षमा प्रतिक्रियाको ओइरो लागेको छ।

भारतीय सञ्चार माध्यम तथा भारतीय नागरिकले उनको ट्वीटलाई लिएर आलोचनाको वर्षा गरेका छन्। अभिनेत्री कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।

मन्त्री ज्ञवालीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय भन्दै गरेको ट्वीटमा रिट्वीट गर्दै मनिषाले लेखेकी थिइन्– ‘हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद। अब तीन महान् देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु।’

उनको ट्वीटसँगै गालीको वर्षा भएको छ। उनलाई कति तल्लोस्तरसम्मको गाली वर्षाइएको छ भने एक ट्वीटर प्रयोग कर्ताले प्रतिक्रियामा लेखेका छन्– ‘एउटा हिन्दी फिल्ममा काम दिने अफरको टुक्रा फालिदिनु, तुरुन्त जिब्रो चलाउँदै दौडेर आउनेछिन्।’

केहीले भने संयमता अपनाएर प्रतिक्रिया जनाउँदै नेपाल चीनबाट सतर्क हुनुपर्ने, अन्यथा नेपालको हालत तिब्बतजस्तो हुने जनाएका छन्। ‘तपाईंआफ्नो स्थानमा सही हुनुहुन्छ। हामी नै उदार र महान् बन्न जान्छौं। हामी भारतीय पनि अब तपाईंले जस्तै सोच्नेछौं।’ –एक प्रयोगकर्ताले प्रतिक्रियामा लेखेका छन्। अर्का एक प्रयोगकर्ताले लिपुलेक भारतको भएको दाबी गर्दै तल्लोस्तरमा ओर्लिएर गाली गरेका छन्।

मनिषाको रिट्वीटमाथि समर्थन पनि आएको छ। उनीहरूले मनिषाको ट्वीटमा समर्थन लेखेका छन्। ‘नेपाल हाम्रो भाइ हो। हामी आफ्नो भाइलाई मदत गर्न सधैं तयार रहनुपर्छ।’ –एक प्रयोगकर्ताको प्रतिक्रिया छ। ‘साँचो हो, नेपाल भारतका लागि सर्वश्रेष्ठ र भारत नेपालका लागि। यो सम्बन्ध अरू बलियो हुनुपर्छ।’ –अर्का ट्वीटर प्रयोगकर्ताको प्रतिक्रिया छ।


divya collage
unigloble collage