छाङरुमा टेलिकम टावर तत्काल सञ्चालन गर्न व्यास गाउँपालिकाको माग

6.23K
shares

दार्चुला । विगत सात महिनादेखि अवरुद्ध रहेको दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र नजिकै रहेको व्यास गाउँपालिकाको छाङरुमा रहेको नेपाल टेलिमकमको स्काइ टावर सञ्चालन गर्न व्यास गाउँपालिकाले माग गरेको छ । गत मङ्सिरदेखि सञ्चारविहीन रहेको व्यासमा तत्काल टेलिफोन सञ्चालन गर्न गाउँपालिकाले मन्त्रालयसँग माग गरेको हो ।

व्यास गाउँपालिकाले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अवरुद्ध रहेको टेलिफोन सेवा सञ्चालन गर्न आग्रह गर्दै पत्रचार गरेको छ । गाउँपालिकाले व्यासमा स्थानीय र सुरक्षाकर्मीको उपस्थिति भइसकेको अवस्थामा टेलिफोन सेवा सञ्चालन गर्न माग गर्दै मन्त्रालयलाई पत्राचार गरिएको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिनुभयो ।

गाउँपालिकाले तत्काल हेलिकोप्टरमार्फत टावर सञ्चालन गर्न जनशक्ति र सामग्री उपलब्ध गराउन मन्त्रालयलाई आग्रह गरेको हो । हाम्रा जनतासमेत व्यास पुगेका छन् । “सदरमुकाम खलङ्गाबाट हिँडेदेखि सञ्चार हुनसकेको छैन”, व्यास गाउँपालिकाका स्थानीयवासी यशोदा तिङ्करीले भन्नुभयो, “हामीलाई त्यो क्षेत्रमा खाद्यान्नको अवस्था के छ, मानिस कसरी पुगे भनेर जानकारी लिन सकिने माध्यम सञ्चार हो ।”

गत वर्ष हेलिकोप्टरमार्फत टेलिकमका कर्मचारी ल्याएर टावर निर्माण गरेको भए पनि यस वर्ष सञ्चालनका लागि कुनै पहल नभएको गाउँपालिका अध्यक्ष बुढाथोकी बताउनुहुन्छ । सीमारक्षाका लागि अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी व्यास पुगेका छन् । स्थानीय पनि गाउँ पुग्ने क्रममा छन् तर यो क्षेत्रमा अहिलेसम्म फोन सेवा सञ्चालन भएको छैन । सुरक्षाकमीलाई नै टेलिफोन सञ्चार गर्न समस्या भएको भन्दै तत्काल सरकारले व्यासमा टावर सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

गाउँपालिकाको छाङरु सर्जिकोटमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अत्यधिक हिमपातका कारण सञ्चारसेवा गत मङ्सिरदेखि अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । हिमपातका कारण सोलार प्यानल र अन्य उपकरणमा क्षति पुगेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो । बाटोघाटो नै नभएको अवस्थामा तत्काल नै सेवा सञ्चालन गर्ने अवस्था नभएको उहाँले बताउनुभयो ।

प्रहरी छाङरुबाट तिङ्कर उक्लियो

गत जेठ १ गते व्यासको छाङरुमा पुगेको नेपाल प्रहरी बुधबार व्यासको तिङ्करस्थित छियालेक चौकीमा उक्लिएको छ । छाङरु पुगेको दुई सातापछि नेपाल प्रहरी छियालेक चौकी सरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । छियालेक झण्डै पाँच हजार मिटर उचाइमा छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीसँगै गत वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म सुरक्षाकर्मी र खाद्यान्नलगायत बन्दोबस्ती ओसारेको थियो । पहिलोपटक सशस्त्रको बिओपी छाङरुको गागामा राखिएको छ भने सीतापुलमा नेपाल प्रहरी छ । यस्तै तिङ्करको छियालेकमा बुधबारदेखि प्रहरीले चौकी स्थापना गरी काम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083