जिल्ला अस्पताल बैतडीका १९ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

7.85K
shares

बैतडी । जिल्ला अस्पताल बैतडीको सेवा तीन दिनदेखि प्रभावित भएको छ । अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडिटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएपछि सेवा प्रभावित भएको हो ।

उच्च ज्वरोका साथै शङ्कास्पद लक्षण देखिएकी ती महिलाको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि प्रत्यक्ष सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो ।

यही जेठ २० गते राति शल्यक्रियामार्फत जिल्ला अस्पतालमै बच्चा जन्माएकी दोगडाकेदार–६ सित्तड घर भएकी ती महिलामा बुधबार जाँच गर्दा १०५.१ डिग्री फरेनहाइट ज्वरो देखापरेपछि आरडिटी गरिएको हो । नवजात शिशुको भने आरडिटी रिपोर्ट नेगेटिभ आएको छ ।

ती महिलाको शल्यक्रियामा संलग्न र अन्य सम्पर्कमा रहेका स्वास्थ्यकर्मीलाई पनि सेल्फ क्वारेन्टिनमा बस्न भनिएको प्रमुख डा जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा आउने अरु बिरामी जाँच र अरुको सम्पर्कमा नजाने गरी सेल्फ क्वारेन्टिनमा बस्न भनेका हौँ”, उहाँले थप्नुभयो, “१९ स्वास्थ्यकर्मीले क्वारेन्टिनमा बस्दा सेवा पनि प्रभावित भएको छ, ती महिलाको पिसीआर पोजेटिभ आयो भने झनै समस्या हुने देखिन्छ ।”

आरडिटी पोजेटिभ ती महिलाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ । पिसीआर परीक्षणपश्चात मात्रै महिलामा कोरोना भए/नभएको थाहा हुने जनाएको छ । ती महिलालाई जिल्ला अस्पतालकै आइसोलेसनमा राखिएको छ । १९ वर्षीया महिला जेठ १९ गते जिल्ला अस्पतालमा भर्ना भएकी हुन् ।

सामान्यतया ४० हप्तामा बच्चा जन्मिने भए पनि ती महिलालाई ४३ हप्ता भइसक्दासमेत पेटको पानी सुकेर ब्यथा नलाग्ने समस्या रहेको डा जोशीको भनाइ छ । यसैबीच बैतडीको पाटन नगरपालिका–८ का ३१ वर्षीय कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083