कार्यलय दुई सिफ्टमा: ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्म खोल्ने

16.35K
shares

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएको भन्दै तत्काल सार्वजनिक सवारी सञ्चालन नगर्ने निर्णय गरेको छ।
निजी सवारी साधन भने जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ।

बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यो जानकारी दिएका हुन्।

खतिवडाका अनुसार सवारी साधनमा चढ्दा गाडीको सिटको एकतर्फको सिटमा एकजना मात्र बस्नु पर्ने र मास्क अनिवार्य लगाउनुपर्ने निर्णयसमेत सरकारले गरेको छ।

यसैगरी मोटरसाइकलमा एकजना मात्र र कारमा चालकबाहेक २ जना मात्र बस्न पाउने छन् ।
‘मोटर साइकलमा एकजना व्यक्ति मात्र बस्ने व्यवस्था गरिएको छ, निजी कारमा चालकबाहेक २ जना चढ्न पाउने छन्,’ खतिवडाले भने ।

व्यक्तिलाई मास्क लगाएर पैदल यात्रा गर्न रोक नलगाइने खतिवडाले जानकारी दिए ।
प्रवक्ता खतिवडाका अनुसार निजी र सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ। भौतिक दूरीलाई व्यवस्थित गर्न र भिडभाड कम गर्न सरकारले यो निर्णय गरेको हो।

तत्कालका लागि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।

यसैगरी सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोरहरु खुला गर्ने निर्णय गरेको छ । तर सपिङ मल भने खोल्ने निर्णय नभएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने यक्तिहरुको पैदल आवागमन खुला गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083