पहिरोमा पुरिएका दुई परिवारका आठ शव भेटियो : एक अझै बेपत्ता

7.38K
shares

पर्वत । दिनभरी घर तथा खेतवारीमा काम गरेर फर्किएका यहाँका एक गाउँका ९ जना बासिन्दा पहिरोले सखाप बनाएको छ। शनिबार साँझ ७ बजेतिरको समय हो।  मेलापातबाट फर्किएर घरमा खाना बनाउने र खाने चटारोमा थिए दुवै परिवार।
त्यतिकैमा ठूलो गर्जनसहित वर्षा भयो। दिनभर कामकाज गरेका उनीहरु खाना बनाउन र खानका लागि व्यस्त बनिरहेका थिए। बालबच्चा मोवाइल टिभीमा व्यस्त थिए।  यत्तिकैमा घरमाथि रहेको जंगलबाट पहिरो आएर दुबै घर छोप्यो र ९ जनालाई कहिल्यै नफर्कने गरी लग्यो।
घटना शनिबार रातिको हो। पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको काहुलेमा बस्ती भन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका आठ जनाको शव भेटिएको छ भने एकजना बेपत्ता छन्।  स्थानीय तुलबहादुर थापाको परिवारका ६ जना र विकास विकको परिवारका तीन जनालाई पुरेको हो।
पहिरोले पुरिनेमा ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीय मिनकुमारी थापा, नातिनी ८ वर्षीया बिबिसा र नाती १४ वर्षीय सम्राट थापा, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीय दिपा थापा र दिपाका छोरा १७ वर्षीय विवेक थापाको मृत्यु भएको छ।
त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला बिक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा बिकको मृत्यु भएको छ। १३ वर्षीय जेनिस बिकको भने शव भेटिएको छैन।  खोजी कार्य जारी रहेको छ।
तुलबहादुरका छोरा अम्मर थापा र बुहारी रिमाया थापा भने ज्यान जोगाउन सफल भएका छन्।  उनीहरु घरदेखि झण्डै पाँच सय मिटर परको डाँडामा पसल संचालन गर्दै आएका थिए।  उनीहरु पसलमै रहेका कारण ज्यान जोगिएको स्थानीय ऋषिराम पौडेलले जानकारी दिए।
‘हामी पसलमै भएकाले बाच्न सफल भयौँ। न बाबुआमाको मुख देख्न र पानी खुवाउन पायौँ, न आफैँले जन्माएका दुई सन्तान सम्राट र विविशालाई नै’, उनले भने, ‘छोराछोरी र बाबुआमा गुमाएर यो संसारमा बाँच्नुको कुनै अर्थ रहेन ।’
यता कमला विकका श्रीमान विकास विक भने रोजगारीका लागि साउदीमा छन्। उनी लकडाउन खुले लगत्तै स्वदेश फर्किने तयारीमा थिए। दिनभरी स्थानीय रामप्रसाद रेग्मीको खेतमा धान रोप्न गएकी उनी साँझ घर फर्किएर थकाई मार्न नपाउँदै पहिरोमा पुरिएकी हुन्।
परिवारका तीनैजनाको मृत्युपछि साउदीमा रहेका विकास भावविह्ल बनेका छन्। कोरोना भाइरसका कारण उनी फर्किन सक्ने सम्भावना छैन।
तुलबहादुरी छोरी दिपाको घर बागलुङको जैमिनी नगरपालिका–१ पैंयुथन्थाप हो।  उनी कुश्माबजारमा छोरा पढाएर बस्दै आएपनि छोराको एसईई परीक्षा अन्योल र लामो समयको लकडाउनका कारण माइतीमा गएर बसेकी थिइन्।
उनका श्रीमान समेत रोजगारीका लागि खाडी मुलुक साउदीमा रहेका छन्। आमाछोराको मृत्युपछि उनीहरुको घर पैँयुथन्थाप शोकमा छ ।
पहिरो गएलगत्तै कुश्माबाट पुगेको सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा राति १ बजेसम्म तीन र बाँकी ५ शव बिहान निकालिएको हो। जेनिश विकको भने खोजी भैरहेको पर्वतका प्रहरी प्रमुख विश्वराज अधिकारीले बताए।  उनले भने–‘खोजीकार्य अझै जारी छ ।’
मृतकको शव दिनभरी स्थानीय स्वास्थ्य चौकीमा राखेर साँझ पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ। पोष्टमार्टम सकिएपछि सोमबार सामुहिक दाहसंकार गरिने स्थानीय प्रभु गुरुङले जानकारी दिए।
बस्ती आसपासमा रहेका झण्डै आधा दर्जन घर जोखिममा परेका छन्। उनीहरुलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ।
स्थानीय स्वास्थ्य चौकीमा राखिएका मृतकहरुको शव।
पीडित पविारलाई राहत दिँदै गण्डकी प्रदेशका मन्त्री विकास लम्साल र हरिबहादुर चुमान।

थप समाचार


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083