लकडाउनको समय कौसी खेतीको अवसर

18.1K
shares

चीनको वुहान सहरबाट फैलिएको कोभिड-१९ ले अहिले वर्तमान समयमा विश्वभरि महामारिको रुप लिगेको छ र विश्वभरीका सारा मुलुकहरूमा त्रास सृजना गरेको छ। अहिलेसम्म विश्वको लगभग सबै मुलुकहरुमा यो कोभिड-१९ फैलिएको छ भने हाम्रो देश नेपालमा पनि कोभिड-१९ को संक्रमण बढ्दो रुपमा फैलिएको देखिन्छ। यस महामारीको संक्रमणबाट बच्नको लागि विश्वको अन्य मुलुकहरुमा अप्नाइएको लकडाउनको उपाय हाम्रो देशमा पनि अप्नाइएको छ।

लकडाउनको कारणले गर्दा मानिसहरुको आवतजावत ,घुमफिर आदि क्रियाकलापमा रोक लगाइएको छ।विभिन्न कलकारखाना, व्यापार- व्यासाय,यातायात अनि संघसंस्था पनि ठप्प पारिएको छ भने महिनौं देखि ठप्प हवाईउडान भने केहि दिनको लागि संचालन गरि वैदेशिक रोजगारका लागि बाहिरिनु भएका नेपाली नागरिकहरु जो यस महामारिको कारणले विदेशमा रोजगार गुमाएर बिचल्ली पर्नुभएको छ उहाँहरुलाई उदार गरि आफ्नो देशमा फिर्ता गरिएको छ।  मानिसहरुलाई सामाजिक दुरि कायम गरि घरबाट बाहिर ननिस्कि घरभित्रै सुरक्षित भएर बस्न भनिएको छ। यस कारणले गर्दा मानिसको दैनिक जिवनमा ठुलो असर परेको छ।यसले गर्दा दैनिक उपभोग्री सरसामान तथा खाधान्नको बेलाबेलामा अभाव हुने गर्छ। वर्षनै छिमेकी राष्ट्रहरु चीन र भारतबाट नेपालमा विभिन्न खाद्यान्न सामग्रीहरु भित्रिने गर्छ र यस महामारिको बेलामा पनि भारतबाट खाद्यान्न तथा तरकारी भित्रिने क्रम जारी नै छ।

नेपालको बजारमा तरकारिको अभाव भएको छ र भारतबाट भित्रिएको विषादियुक्त तरकारी तथा फलफूलको सेवन गर्नुपरेको छ। यस्तो बिषादियुक्त तरकारी तथा फलफूलको सेवनले हाम्रो स्वास्थमा दिन प्रती दिन हानी पुगेको हुन्छ। अहिले यस महामारिको कारणले गर्दा भएको यस लकडाउनको खाली समयमा कृषिमा केही हद सम्म आत्मनिर्भर बन्न आफ्नो तथा परिवारको स्वास्थ अवस्था सुरक्षित गर्न र बढ्दो वातावरण प्रदुषण निवारण गर्नको लागि कौसी खेती उत्तम बिकल्प हुन सक्छ।

कौसी खेती (Roof top farming) भनेको घरको छ्तमा गमला अथवा अन्य भाडाँमा तरकारी तथा फलफूल रोपेर गरिने खेती हो।कौसी खेतीलाई एउटा कम खर्चिलो व्यवसायको रूपमा लिन सकिन्छ। दैनिक घरको भान्सा बाट निस्कने फ़ोहोरलाई कुहाएर त्यसको मल बनाई आफ्नो घरको फ़ोहोरको उचित व्यवस्थापन गर्न सकिन्छ । उक्त मललाई हामीले कौसी खेतीको लागि प्रयोग गर्न सकिन्छ।

कौसी खेतीको लागि प्रसस्त जमिनको आवश्यक नपर्ने हुनाले हामीले आफ्नै घरमा रहेको पुरानो टुटेफुटेका भाडाँ, पुराना टायर, सिमेन्टको बोरा, टुटेफुटेका प्लास्टिकको बाल्टिन , बाटा, प्लास्टिकको बोतल, माटोको गमला, तेलको प्लास्टिक आदि सामाग्रीको पुनः प्रयोग गरेर घरको कौसीको सानो भन्दा सानो खाली ठाँउको सृजनात्मक उपयोग गर्न सक्छौं। यती मात्रै नभएर एउटै भाडाँमा वा ठाँउमा विभिन्न प्रजातिका विरुवा, तरकारी फलफूल रोप्न सकिन्छ।

खेतीयोग्य जमिनको अभाव भएको ठाँउमा कौसी खेतीलाई सबै भन्दा प्राथमिकता दिएर आफुले दिनहुुँ घरमा सेवन गर्ने बिषादिको प्रयोग नगरि अर्गानिक तरकारी तथा फलफूल उत्पादन गर्न सकिन्छ। विशेष गरि शहरबजार तिर जाहाँ खेतीयोग्य जमिनको अभाव छ त्यहाँ कौसी खेती महत्त्व बढी मात्रामा हुन्छ। कौसी खेतिले घर तथा वरिपरि वातावरणमा हरियाली थप्ने काम गर्छ भने गर्मीको बेलामा घरको तापक्रमलाई कम र जाडोमा तापक्रम बढाएर न्यानो बनाउँन महत्वोपुर्ण भुमिका खेल्छ।

कौसी खेतीबाट हुने फाइदाहरु:

-घरको भान्साबाट दिनहुुँ निस्किने फोहोर उचित व्यवस्थापन गर्न सकिन्छ।
-घरमा भएका पुराना तथा टुटेफुटेका सामानहरुको राम्रो सदुपयोग गर्न सकिन्छ।
-तरकारी र फलफूल ताजा एवं अर्गानिक उत्पादन गर्न सकिन्छ।
-दैनिक रूपमा उपभोग तरकारी र फलफूल किनमेलमा कम खर्च लाग्छ।
-घरको कुनै पनि खाली ठाँउमा आफ्नो इच्छा अनुसार तरकारी तथा फलफूल उत्पादन गर्न सकिने।
-घर वरिपरिको वातावरण प्रदुषणलाई न्यूनीकरण गर्न सकिने।

कौसी खेतीमा प्रयोग हुने माटो सकेसम्म हलुका खालको हुनुपर्छ। हलुका माटोमा विरुवाको जराको विकास राम्रोसँग हुने र यो सहजै फैलिन सक्छ। कौसी खेतीमा प्रयोग हुने माटोको मिश्रणमा चार भागको एक भाग माटो,अर्को एक भाग बालुवा र बाकी दुई भाग मल राख्नुपर्छ। हामीले मलको लागि भने भान्साबाट निस्केको फोहोरलाई कुहाएर प्रयोग गर्न सकिन्छ। यसरी तयार भएको मिश्रणलाई गमलामा हाली सिजन अनुसारको तरकारी तथा फलफूल रोप्न सकिन्छ। विरुवा रोपि सके पछी त्यसलाई बिशेष ध्यान दिनुपर्छ। आवश्यक मात्रामा मात्र पानी हाल्नुपर्छ । पानी धेरै हाल्दा माटो संगै मल पनि बगाएर लग्छ। रोपिएको विरुवालाई रोग तथा किरा फटयाङ्ग्रा बाट बचाउन हामीले रासायनिक बिषादिको प्रयोग नगरि घरमै जैविक औसधि बनाएर मार्न सकिन्छ। हाम्रो घर वरिपरि हुने नीमको पात,असुरो ,तितेपाती, बन्मारा, बकाइनोको पात आदिको सानो सानो टुक्रा पारी गहुँत वा पिसाबमा राखी प्रयोग गर्न सकिन्छ। यसरी उत्पादन गरिएको तरकारी तथा फलफूल सेवनले हाम्रो स्वास्थमा निकै लाभ गर्छ।

कौसी खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु :

-कौसीमा गरिने खेतीमा जमिनको माटोमा जस्तो जैविक गतिविधि भइरहेको हुदैन त्यसैले आवश्यक मल र अरु तत्वहरु बाहिरबाट राख्नुपर्छ।
-रोपिएको बोटविरुवालाई आवश्यक मात्रामा पानी दिनुपर्छ। यदि पानी बढी वा कम भएमा रोग लाग्ने सम्भावना धेरै हुन्छ।
-सिजन अनुसारको तरकारी रोपेमा बढी फाइदा लिन सकिन्छ।
अन्तत : यस महामारीको संक्रमणले निम्त्याएको लकडाउनको सहि सदुपयोग गरि कौसी खेतीलाई आत्मसात गर्दै आफू अनि मुलुकलाई कृषि आत्मनिर्भर बनाउ र साथ साथै वातावरणको संरक्षण गरौं।

बिना पाण्डे मगर कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, खैरहनी कृषि विधार्थी हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083