नेकपा किचलो : स्थायी कमिटी बैठक फेरि स्थगित
वि.सं.२०७७ असार २२ सोमवार १०:०७
shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुन स्थगित भएको छ।आज ११ बजेका लागि बोलाइएको बैठक बुधवारसम्मका लागि स्थगित भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक २४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिए।
यसअघि शनिवारका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित भएको थियो। असार १० बाट सुरु भएको बैठक आन्तरिक किचलोका कारण ६ दिन बसेपछि स्थगित हुँदै आएको छ।
विवाद समाधानका लागि भन्दै आइतवारमात्रै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले २ घण्टा लामो छलफल गरेका थिए। छलफलले कुनै निष्कर्ष निकाल्न सकेन। अर्को चरण छलफल गरेर सहमतिका साथ अघि बढ्ने सहमति भएको छ।
उता, आइतवार मात्रै पार्टीका वरिष्ठ नेता माधव नेपाल र नेपालका लागि चिनियाँ राजदुत होउ याङ्छीबीच भेटवार्ता भएको थियो। नेकपाको कलहबीच याङ्छीले भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
आइतवार नै अध्यक्ष प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनलालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए। नेकपा फूटको संघारमा पुगेको भन्दै दोस्रो र तेस्रो तहका नेताहरु त्यसबाट जोगाउन माग गर्दै आएका छन्।
































