भारतमा कपाल खौरिई दुर्व्यवहार गरिएका ‘पीडित नेपाली’को खोजी गर्दै भारतीय प्रहरी
वि.सं.२०७७ साउन ३ शनिवार १९:०१
shares

प्रधानमन्त्री केपी शर्मा ओलीको रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिको विरोधमा भारतको बनारसमा भएको घटनामा संलग्न चार जनालाई गिरफ्तार गरेको त्यहाँको प्रहरीले अब पीडित भनिएका ती व्यक्तिबारे सोधखोज गरिरहेको छ।

नेपालमा पनि निकै भाइरल भएको एउटा भिडिओ फुटेजमा त्यहाँको एउटा हिन्दू सङ्गठनका कार्यकर्ताहरूले नेपाली भनिएका एक व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ।
भारत उत्तर प्रदेशस्थित वाराणसी प्रहरीका एसपी अमित पाठकले उक्त घटनाको भिडिओ खिची सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा पक्राउ परेका चार जनालाई अदालतमा पेस गरिन लागेको जानकारी दिए।
तर मुख्य आरोपित अरुण पाठक भने फरार छन्।
को हुन् ती व्यक्ति ?

एसपी पाठकका अनुसार भिडिओमा पीडितका रूपमा देखा परेका व्यक्ति को हुन् भन्ने अझै स्पष्ट भएको छैन।
उनले कुरा गर्दै भने, “उनले अहिलेसम्म उजुरी दिएका छैनन्, उनलाई फेला पार्न वा सम्पर्क गर्न सक्यौँ भने मात्र हामी (उनी नेपाली हुन् कि हैनन्) भन्न सक्छौँ।”
त्यहाँ बसोबास गर्ने नेपाली समुदायका अगुवाहरूका अनुसार ती व्यक्तिको पहिचान गर्ने काम भइरहेको छ।
केही व्यक्तिले घटनास्थलनजिकै भेलुपुरमा उनको घर रहेको र उनी अवकाशप्राप्त गोर्खा सैनिक भएको प्रारम्भिक सूचना आएको जनाएका छन्। उनी ४२ वर्षका भएको बुझिएको छ।
उनी नेपाली नागरिक नै हुन् वा नेपाली मूलका भारतीय हुन् भन्ने अझै खुल्न सकेको छैन।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एक आरोपित व्यक्तले प्रहरीलाई दिएको बयानमा नेपाली भनिएका ती व्यक्तिलाई मुण्डन गर्न र नेपालका प्रधानमन्त्रीविरुद्ध नारा लगाउन १,५०० रुपैयाँ दिएर तयार पारिएको दाबी गरेका छन्।
कडा कारबाही गरिने प्रतिबद्धता
एसपी पाठकका अनुसार पक्राउ परेका चार जनाले आफ्नो ”अपराध स्वीकार” गरेका छन्।
हामीले उनीहरूको मोबाइलमा भिडिओ पनि फेला पार्यौँ,” एसपी पाठकले भने, “उनीहरूविरुद्ध कडा कारबाही गरिनेछ।”
बनारसबाट प्रकाशित अमर उजाला पत्रिकाका अनुसार उक्त घटनाका मुख्य आरोपित अरुण पाठकलाई प्रहरीका तीनवटा टोलीले खोजिरहेको छ।
उक्त पत्रिकाका अनुसार भिडिओ खिच्ने सन्तोष कुमार पाण्डेयले पाठकले फोन गरेर आफूलाई गङ्गाको घाटमा बोलाएको र त्यहाँ पुग्दा १,५०० रुपैयाँ दिएर एक नेपाली युवकलाई कपाल खौरिन तयार राखिएको प्रहरीलाई बताएका छन्। तर पाण्डेयले ती व्यक्तिबारे जानकारी नभएको जनाएका छन्।
सोशल मीडिया पर वायरल हो रहे आपत्तिजनक वीडियो के सम्बन्ध में थाना भेलूपुर पर पंजीकृत मु0अ0सं0 335/2020 धारा 505(2)/295 भादवि व धारा 67 आइटी एक्ट में गिरफ्तार अभियुक्त संतोष पाण्डेय के सम्बन्ध में एसएसपी वाराणसी @amitpathak09 कीबाईट @Uppolice @dgpup @adgzonevaranasi @IgRangevaranasi pic.twitter.com/2v4rg23B1n — Varanasi Police (@varanasipolice) July 17, 2020
तर त्यसको पुष्टि हुन सकेको छैन।
के हो विश्व हिन्दू सेना ?
विश्व हिन्दू सेना बनारसमा पनि खासै नाम नसुनिएको सङ्गठन हो।
वाराणसी प्रहरीका अनुसार अरुण पाठक त्यसका नेता हुन्।

तर उक्त सङ्गठनको पर्चामा त्यो कतै दर्ता भएको सङ्केत देखिँदैन।
उक्त सङ्गठनले ओलीविरुद्ध ललिताघाटस्थित नेपाली मन्दिरसहित बनारसका विभिन्न स्थानमा पोस्टर टाँसेको थियो।
त्यसमा ओलीले रामबारे गरेको अभिव्यक्ति फिर्ता नलिए भारतमा बस्ने नेपालीले परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो।
बनारसमा भएको घटनाबारे जानकारी पाएपछि दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरेका थिए।
के भन्छन् बनारसमा बस्ने नेपालीहरू ?
बनारसमा अध्ययन, अध्यापन, काम र तीर्थवास गर्ने नेपालीहरूको सङ्ख्या उल्लेख्य छ।
धेरैले यो घटनालाई दुई देशबीच रहेको सांस्कृतिक र पारम्परिक सम्बन्ध बिगार्ने “षड्यन्त्र र अतिवादी कृत्य”को रूपमा हेरेका छन्।

अहिले नेपालीहरू बसोबास गर्ने क्षेत्रमा सुरक्षा बढाइएको छ । तर कोरोनाभाइरस लकडाउनमा हिँडडुल र अन्य गतिविधि पनि कम भएकाले खासै असुरक्षित अनुभूति नभएको उनीहरूको भनाइ छ।
अहिले केही तत्त्वहरूले आतङ्क सिर्जना गर्न र चर्चित हुने अवसरका खोजेका हुन्,” साम्राज्येश्वर पशुपतिनाथ मन्दिर सञ्चालक समितिका अध्यक्ष स्वामी ओम्कारानन्द गिरिले बीबीसीसँग भने, “हामी सतर्क छौँ, तर यो घटनालाई ठूलो महत्त्व दिनुहुँदैन।”
“प्रहरी र प्रशासनले कारबाही सुरु गरेका छन्,” उनले भने, “यस विषयमा नेपाली राजदूतले पनि उत्तर प्रदेशका मुख्यमन्त्रीसँग कुरा गर्नुभएको छ।”

अहिले केही तत्त्वहरूले आतङ्क सिर्जना गर्न र आफू चर्चित हुने अवसर खोजेका हुन्…
स्वामी ओम्कारानन्द गिरि
अध्यक्ष, साम्राज्येश्वर पशुपतिनाथ मन्दिर, सञ्चालक समिति
ललिताघाटस्थित नेपाली मन्दिरमा पर्चा टाँसिएपछि गिरिले राजदूत आचार्यसँग कुरा गरेका थिए।
अहिले मन्दिरको सुरक्षाका लागि प्रहरीको एउटा टोली परिचालित भएको जानकारी उनले दिए।
बनारसमा नेपाली नागरिक र नेपाली मूलका अन्य मानिसले आफूलाई असुरक्षित महसुस गर्नुपर्ने स्थिति नभएको नेपाली समुदायका एक अगुवा राजु पोखरेल बताउँछन्।
“केही भयो भने हामीलाई सम्पर्क गर्न भनेका छौँ,” उनले भने, “हामी प्रशासनसँग सम्पर्कमा छौँ।” बीबीसी नेपाली


























