आलोचनाको डरले स्थायी कमिटी बैठक सारिरहने ओलीले मंसिरमै महाधिवेशन गर्न सक्लान् ?

7.37K
shares

काठमाडौं । सत्तारुढ नेकपामा यतिबेला नेतृत्वको विवाद उत्कर्षमा छ । नेताहरू बैठक बस्दा विवाद साम्य भयो भनेर उठ्छन् । फेरि भोलिपल्टदेखि कलह सुरु भइहाल्छ । प्रधानमन्त्री केपी ओलीले तीनपटकसम्म आफ्नो प्रधानमन्त्री पद बचाउन विभिन्न अस्त्र फालिरहेका छन् । गत वैशाखमा आफ्नो राजीनामा मागिँदा उनले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर कुर्सी जोगाएका थिए ।

असार १६ गते स्थायी कमिटी बैठकमा फेरि उनको राजीनामा मागियो । त्यसयता ओलीले स्थायी कमिटी बैठक सार्दै आएका छन् । २० दिनयता स्थायी कमिटीको बैठक बस्न सकेको छैन । अहिलेसम्म सातचोटि स्थगित भइसकेको छ ।

स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिने डरले ओलीले शनिबार सचिवालय बैठक बोलाए । बैठकमा ओलीले मंसिरमा एकताको महाधिवेशन गर्ने अस्त्र फाले । त्यसयता नेकपामा महाधिवेशनको चर्चा सुरु हुन थालेको छ ।

ओली निकट नेताहरू यतिबेला एकता भएको साढे दुई वर्षसम्म किन महाधिवेशन हुन सक्दैन भन्दै आफ्नो मत जाहेर गरिरहेका छन् । तर, महाधिवेशनबारे पूर्वमाओवादी खेमा मौन छ भने माधवकुमार नेपाल समूहले त सार्वजनिक रूपमै असन्तुष्टि जनाइसकेको छ ।

वरिष्ठ नेता नेपालले मंसिरमा कुनै पनि हालमा महाधिवेशन हुन नसक्ने मात्र भनेका छैनन्, यदि त्यसबेला हुने हो भने आफू देशभर भेला गरेर नेता कार्यकर्तालाई प्रशिक्षण गर्न सक्षम रहेको चुनौतीसमेत दिइसकेका छन् । त्यसैले ओलीले आफ्नो कुर्सी केही समय लम्ब्याउन पनि मंसिरमा महाधिवेशनको झटारो फालेको पुष्टि हुँदै गएको छ ।

आफ्नो आलोचना हुने र राजीनामा मागिने डरले एक महिनादेखि स्थायी कमिटीको बैठकसमेत पर पर सार्दै गइरहेका ओलीले मंसिरमै महाधिवेशन गराउलान् भन्ने विश्वास पनि धेरैले गरेका छैनन् । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले त सामाजिक सञ्जालमा ओलीको यो प्रवृत्तिको कडा शब्दमा आलोचना गरेका छन् ।

उनले सोमबार बिहान ट्विट गर्दै लेखेका छन्, ‘दुई बर्षसम्म केन्द्रीय आयोग विभागलाई पूर्णता दिन नसक्ने, पार्टी सदस्यताको एकीकृत अभिलेखसम्म बनाउन नसक्ने र आफ्नो आलोचना हुन्छ भनेपछि बैठकै नबोलाउने नेतृत्वले चार महिनामा महाधिवेशन हुन्छ भन्दा अरूले पत्याइदिनुपर्ने ? अहिले उत्पन्न समस्यालाई हल गरेर केन्द्रीय कमिटीले तोकेकै २०७७ चैत २५–३० को मितिमा महाधिवेशन गर्न कसले रोकेको छ र ?’ क्यानाडानेपालमा राजेन्द्र बस्यालले लेखेका छन् ।