मोरङका सञ्चारकर्मीहरुलाई निशानदेवी मिडिया प्रालिद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण
वि.सं.२०७७ असोज १८ आइतवार २१:१६
shares

काठमाडाैं । कोरोना संक्रमणका बेला अग्रपंक्तिमा रहेर समाचार संकलनमा खटिने पत्रकार तथा सञ्चारकर्मीलाई सुरक्षा सामग्री प्रदान गरिएको छ ।
निशानदेवी मिडिया प्रालिको ‘स्वास्थ्य सुरक्षा सामग्री वितरण’ कार्यक्रमको आयोजना गरी कोरोना भाइरसबाट सुरक्षित हुँदै समाचार संकलन गर्न मोरङमा कार्यरत विभिन्न सञ्चार माध्यममा आवद्ध ३५ जना सञ्चारकर्मीलाई प्रेस ज्याकेट, मास्क र फेस शिल्ड लगायतका सामग्री वितरण गरेको हो ।
गिरिजाप्रसाद कोइराला फाउण्डेसनका केन्द्रीय अध्यक्ष सुजाता कोइराला र अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेको विषेश पहलमा संकलन गरिएको थियो ।
जसमा नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता मुनिन्द्र नेम्वाङ, नेपाली कांग्रेसका युवा नेता कृष्णराज गिरी, पेन्सल भेनियामा बसोवास गर्ने सामाजिक अभियान्ता अर्जुन बोसेलले आर्थिक सहयोग गरेका थिए ।
उनीहरुलाई निशानदेवी मिडिया प्रालिका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइली र महासंघका मोरङ अध्यक्ष बन्धु पोखरेलले वितरण गरे ।
सो अवसरमा अध्यक्ष बराइलीले व्यक्तिगत सुरक्षा अपनाउँदै आफ्नो दायित्व पूरा गर्न पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गर्दै पत्रकारको पेशागत सुरक्षाको माग गरे । उनले सरकारले कोभिड–१९ को बेलामा रोजगारबिहीन भएका पत्रकारहरुलाई आर्थिक सहायता र राहत नदिएको गुनासो पोखे ।
उनले विदेशी भुमीमा रहेर पनि कोरोना कहरमा नेपाली सञ्चारकर्मीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आर्थिक सहयोग गरेकामा सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग जारी रहनेमा आशा व्यक्त गरे ।
उनले निशानदेवी मिडिया प्रालिले विभिन्न व्यक्ति र संघ संस्थासँगको सहकार्यमा काठमाडौं, धनकुटा, ललितपुर लगायतका जिल्लामा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको र अन्य जिल्लामा पनि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिने जानकारी दिए ।
सो अवसरमा मोरङ अध्यक्ष पोखरेलले देशभरिका पत्रकारहरुलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर जनतालाई सुसुचित गर्ने काममा आफूलाई सक्रिय राख्नुपर्ने अवस्था आएको बताए ।
उनले कोरोनाको यस्तो अवस्थामा जिल्लाका कार्यरत सञ्चारकर्मीहरुको स्वास्थ्य अवस्थालाई ख्याल गरेकोमा गिरिजाप्रसाद कोइराला फाउण्डेसन, सुजाता कोइराला र निशानदेवी मिडिया प्रालिलाई धन्यवाद दिए ।































