कर्मचारीलाई कोरोनाको डर, सेवाग्राहीलाई सेवाको आश
वि.सं.२०७७ असोज २८ बुधवार १६:२७
shares

कैलाली । लम्कीचुहा नगरपालिकाका हीरासिंह बोहरा मालपोत कार्यालय टीकापुर धाउन थालेको दुई हप्ता पूरा भयो ।
मालपोत कार्यालयमा सेवा पाउँछु भन्ने आशा बोहरामा भए पनि मङ्गलबार मालपोत कार्यालयले वितरण गर्ने कुपन नपाउँदा उनी निराश थिए ।
बिहान ४ बजे मालपोत कार्यालय टीकापुर पुगेका हीरासिंह भन्दा पहिले नै धेरै सेवाग्राही लाइनमा भएका कारण मालपोत कार्यालयले दैनिक वितरण गर्ने ६० वटा कुपनमा उनी अटाउन सकेनन् । तैपनि कुनै विकल्प भइहाल्ने कि ? भन्ने आशामा उनी दिनभर मालपोत कार्यालय परिसरमै रहे । तर, काम भएन ।
‘मालपोतले कुपन वितरण गर्छ । तर, केही कुपन कर्मचारीले नै भित्रै मिलाउदा रहेछन्’, हीरासिंहले भने, ‘हामी सर्वसाधारणका लागि धेरै ठूलो सास्ती छ । न त कसैसँग पहुँच छ न त हाम्रो कुरा कसैले सुन्छ ।’ उनले जग्गा रोक्काका लागि दुई हप्तादेखि मालपोत कार्यालय आउँदा मात्रै ठूलो खर्च भइसकेको बताउँदै कर्मचारीकै कारण कोरोना भाइरसको त्रास भयावह बन्दै गएको बताए ।
त्यस्तै, भजनी नगरपालिका–६ बसाहाका फरहारी डङ्गौरा पनि जग्गा रोक्काका लागि मालपोत धाउन थालेको हप्ता दिन पुगेको बताए ।
‘मालपोतले हप्तैपिच्छे नियम बनाउँदा हामी सेवाग्राहीले ठूलो सास्ती भोग्नु परेको छ’, उनले भने, ‘नियम बदलिन्छ थाहै हुँदैन । आफूलाई जस्तो सहज भयो, त्यस्तै नियम बनाउँदा कोरोनाबाट कर्मचारी त सुरक्षित रहलान् । तर, सेवाग्राहीको जिम्मेवारी कसले लिने ?’
मालपोत कार्यालय टीकापुरले असोज १ गतेबाट हालसम्म तीन पटक नियम बदलिसकेको छ । मालपोत कार्यालयमा सेवाग्राहीको अत्याधिक भीडभाड हुन थालेपछि असोज ४ गते आइतबारबाट एक स्थानीय तहका लागि एक बार मात्र सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।
उक्त नियम दुई दिन पनि टिक्न सकेन । त्यसपपछि दैनिक ४० जना सेवाग्राहीको काम मात्र हुने गरी कुपन प्रणाली लागू गर्यो । त्यो नियम पनि दोस्रो दिन कार्यान्वयन हुन सकेन ।
पुनः मालपोत कार्यालयले साविकका गाविस अनुसार बार छुट्याएर सेवाप्रवाह गर्न शुरु गर्यो । त्यसमा पनि अत्याधिक भीडभाड हुन थालेपछि मालपोत कार्यालयले साविकका गाविसलाई बार अनुसार दैनिक ६० वटा कुपन वितरण गरी सेवा प्रवाहको काम शुरु गरेको छ । अहिले दैनिक ६० वटा कुपन वितरण हुँदा सेवाग्राही राति ३ बजेदेखि नै कुपनका लागि लाइनमा बस्ने गरेका छन् ।
मालपोतले १० बजेपछि मात्र कुपन वितरण गर्ने भने पनि सेवाग्राहीले बिहान ३ बजेदेखि नै लाइनमा बस्दै आएका नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन इकाई समिति टीकापुरका अध्यक्ष सत्यराज शर्माले बताए । उनले बन्दाबन्दीका कारण हजारौं सेवाग्राहीको काम रोकिएको बताउँदै सुरक्षाका मापदण्ड अपनाएर आएका सेवाग्राहीका काम कर्मचारीले गर्न सके भीडभाड कम हुने बताए ।
‘रोक्का, फुकुवाका लागि किन कुपन वितरण गर्नुपर्यो ? कुपन प्रणालीले झनै जोखिम निम्त्याएको छ’, अध्यक्ष शर्माले भने, ‘यदि कुपनै वितरण गर्नुपर्ने भए पनि सेवाग्राहीलाई अघिल्लो दिन नै कुपन वितरण गर्दा भीडभाड कम हुनसक्छ ।’
मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हप्तैपिच्छे नियम परिवर्तन गर्नुपरेको बताए । उनले जुन प्रक्रिया अपनाउँदा पनि भीडभाड कम गर्न नसकिएको बताउँदै मालपोत कार्यालय कोरोनाको उच्च जोखिममा रहेको बताए ।
‘हामीले रहरभन्दा पनि बाध्यताले विकल्प खोज्दै आएका हौं’, उनले भने, ‘अझै पनि सेवाग्राहीको भीडलाई नियन्त्रण गर्न सकेका छैनौँं । त्यसमा पनि प्रतिलिपि र निवेदनमा हामीले कुपन प्रणाली लागू गरेका छैनौं ।’
अहिले कुपन वितरण व्यवस्थित गर्न भन्दै इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी टोलीसमेत मालपोत कार्यालयमा खटिँदै आएको छ । प्रहरी खटिए पनि कुपनका लागि भने ठूलो हानथाप गर्नुपर्ने अवस्था मालपोत कार्यालयमा देखिएको छ ।































