बर्दियामा पाटे बाघले मोटरसाइकलमै झम्टेर महिलालाई बेपत्ता पार्‍यो

5.82K
shares

बर्दिया । बर्दियामा पाटेबाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर लगेको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा सवार ती महिलामाथि पाटे बाघले आक्रमण गरेको हो। महिला अझैसम्म फेला परेकी छैनन्‌।

कैलालीको लम्किचुहा नगरपालिका-४ कि ५० वर्षीया नन्दकला थापालाई पाटे बाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ। मोटरसाइकल चालक उनका छोरा सामान्य घाइते छन्‌। उपचारपछि आमाछोरा मोटरसाइकलमा सवार भई घरतर्फ आउँदै थिए।

शुक्रबार राति करिव साढे ८ बजेतिर बाघले मोटरसाइकल सवार यात्रुमाथि आक्रमण गरेपछि निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीसहित खोजीमा निस्किएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

‘रातिदेखि नै बेपत्ता भएकी महिलाको खोजीकार्य जारी छ, तर अहिलेसम्म उहाँ भेटिनु भएको छैन,’ श्रेष्ठले भने, ‘अबदेखि बेलुका भएपछि निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदल हिँड्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिनेछ।’

पछिल्लो समय बर्दियामा बाघ आतंक बढ्दै गएको छ। बर्दियाको मधुवन नगरपालिकामा रहेको खाता जैविक मार्गमा घर पालुवा जनावरलाई बाघले आक्रमण गर्न थालेको छ।

पौष महिनाको पहिलो सातादेखि नै निरन्तर पाटे बाघले गाईवस्तुमाथि आक्रमण गर्न थालेको स्थानीय बासिन्दाले बताएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083