भुटानी शरणार्थी प्रकरण : पूर्व गृहसचिव पाण्डे पक्राउ
वि.सं.२०८० वैशाख २० बुधवार १४:३६
shares

काठमाडौँ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गर्ने गिरोहका सदस्यहरुको बयानका आधारमा पूर्वगृहसचिव पक्राउ परेका छन् । पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत टेकनारायण पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।
परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले सचिव पाण्डेलाई राजधानीको पेप्सिकोलाबाट पक्राउ गरिएको मुक्ती खबरलाई जानकारी दिए । प्रहरीले बुधबार पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनु अघि पाण्डे गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको पाण्डेमाथि आरोप छ । आरोपीहरुले बयानका क्रममा उनको नाम पटक पटक मुछेको प्रहरी अधिकारीहरु बताउँछन्।
प्रहरीको हिरासतमा हुनेहरूले सचिव पाण्डेलाई ५० लाख नगद बुझाएको बयान दिएका छन् । अनुसन्धानबाट पूर्व गृह सचिव महेश्वर न्यौपानेको पनि संलग्नता देखिएको प्रहरीको भनाइ छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आरोपीहरूले पूर्व सचिव महेश्वर न्यौपानेसँग पनि कुरा भएको बताएका छन्, सो ठगीमा राजनीतिक र उच्च पदस्थ कर्मचारीको मिलेमतो देखिएको छ।’
सचिव पाण्डे २०७९ भदौमा गृहबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा सरुवा भएका थिए। पाण्डेले भने पक्राउ परेकाहरु आफ्नो सम्पर्कका मानिस नभएको दाबी गर्दै आएका छन् । यस अघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । नेपालीलाई भुटानी बनाउने गिरोहमा राजनीतिक संलग्नता रहेको प्रहरीले बताउँदै आएको छ ।
यो प्रकरणमा हालसम्म ७ जना पक्राउ परेका छन् । नेपालीलाई शरणार्थीको नाममा अमेरिका पठाउने धन्दामा ४१ करोड भन्दा बढी ठगी भएको प्रहरीको भनाइ छ ।































