यसरी खुल्यो पुर्वमन्त्री टोपबहादुरले ६० लाख लिएको प्रमाण !
वि.सं.२०८० वैशाख २१ बिहीवार १८:१०
shares

काठमाडौँ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा ललितपुरका सानु भण्डारी अहिले प्रहरीको हिरासतमा छन् । भण्डारीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई ‘मामा’ सम्बोधन गर्छन् ।
२०७९ चैत १२ मा पक्राउ परेका ‘भान्जा’को डायरीको रेकर्डको आधारमा अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर अनुसन्धानमा तानिएका हुन् ।
रायमाझी र उनका छोरा सन्दीपले नगद लिएको रेकर्ड सानु भण्डारीको डायरीमा भेटिएको छ । सन्दीपलाई बुटवलबाट पक्राउ गरेर प्रहरीले अदालतबाट ३ दिने म्याद लिएर अनुसन्धान गरिरहेको छ । यस्तै टोपबहादुरमाथि पनि अनुसन्धान भइरहेको छ ।
‘ठगीमा संलग्न आरोपी सानुको डायरीमा टोपबहादुरले नगद लिएको रेकर्ड फेला परेको छ’ अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले मुक्ती खबरसँग भने, ‘नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना सफल बनाउन रायमाझीलाई करिब ६० लाख रुपैयाँ दिएको भण्डारीले बयानमा पनि खुलाएका छन् ।’
डायरी प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रायमाझी र अर्का आरोपी सागर राईबीच पनि सम्पर्क स्थापित हुने प्रमाण प्रहरीले भेट्टाएको छ । २०७९ चैत १५ मा पक्राउ परेका सागर मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित वडा नम्बर–१० का पूर्व अध्यक्ष हुन् । सागरले अमेरिका जान चाहनेहरूसँग उठाएको पैसा मध्ये ७ लाख रुपैयाँ भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई बुझाएको बयान दिएका छन्।
करिब ४५ जनासँग सागरले अमेरिका पठाउने नाममा रकम लिएको भेटिएको छ । तीमध्ये ३२ जनाबाट उनले नगद लिएको प्रमाणबाट देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जानकारी दिए । उठाएको मध्येबाट केही नगद टोपबहादुर रायमाझीलाई दिएको सागरले बयानमा जिकिर गरेका छन् ।
२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो ।
शरणार्थीकै नाममा ठगी धन्दा चलाउने मध्येका मुख्य योजनाकार सन्देश शर्मा चैत २९ मा पक्राउ परेका थिए । हालसम्म पक्राउ परेका आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।































