केशव दुलाल भन्छन् : ओलीका प्रमुख स्वकीय सचिवलाई बालुवाटारमै १ करोड दिएको थिए

6.14K
shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएर ठगी गरेको प्रकरणमा पक्राउ परेका दुलालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसँगको वयानमा बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ बुझाएको बयान दिएका हुन् ।

प्रहरीले सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा दुलालले भनेका छन्, ‘‘तत्कालिन प्रधानमन्त्री केपी वलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको ।’

दुलालले तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्री क्वार्टर पुल्चोकमै पुगेर ३ करोड रुपैयाँ दिएको, बादलका छोरालाई २०७६ मा १ करोड रुपैयाँ दिएको, तत्कालिन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राई मार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा २०७६ असारमा ३ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।

दुलालले आफ्नो बयानमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव राजेश्वर स्थापितलाई मन्त्री क्वार्टरमा १/१ करोड रुपैयाँ दिएको पनि बयान दिएका छन् ।

प्रहरीले लिएको बयानका क्रममा सुरुमा केशवप्रसाद दुलालले इन्कारी बयान दिएका छन् । तर थप बयानका क्रममा उनले रकम दिएको बताएका छन् ।

पढ्नुहोस् दुलालको थप वयानको एक अंश :

तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलले तपाई र तपाईको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वार्टर पुल्चोकमा बोलाई निज रामबहादुर थापा बादल राष्ट्रियसभाको चुनाव हुनु भन्दा अगाडि ३ करोड नगदै बुझी लिएको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा रु १ करोड बुझी लिएको ।

त्यसै गरी तत्कालिन गृहसचिव प्रेमकुमार राईले डा. इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई मिति २०७६ साल असार महिनामा ३ करोड नगदै बुझी लिएको, तत्कालिन प्रधानमन्त्री केपी वलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको ।

तत्कालिन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीले प्रधानन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक विकास समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ उर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी उर्जामन्त्रीको क्वार्टर पुल्चोकमा बोलाई सामाजिक विकास समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझीलिएका हुन् ।

त्यसैगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीका पूर्व सल्लाहकार डा. अजयक्रान्ति शाक्य (तत्कालिन इजरायलका नेपाली राजदूत अञ्जान शाक्यका श्रीमान) र तत्कालिन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथि रकमको अपुग भयो भनी तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वार्टरमा गृहमन्त्री रामबहादुर थापा बादल र उर्जामन्त्री टोपबहादुर रायमाझीसँग मिटिङ गराइसकेपछि तपाईहरुको कम हुने भयो भनी डा। अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले जनही १ करोड बुझी लिएका हुन् ।

काम नभएपछि पटक पटक रकम फिर्ता माग्दा धाकधम्की दिई हामी पावरमा छौं, तिमीहरुको केही लाग्दैन हामीलाई फोन गर्ने भेट्ने काम नगर्नू भनी प्रतीक थापा मार्फत खबर पठाउने गरेको र तपाईहरुले दिएको सम्पूर्ण रकमको ४० प्रतिशत हामी राख्छौं, ६० प्रतिशत लानु भनी प्रतीक थापा मार्फत नाम्लो रेष्टुरेन्ट पुल्चोकमा तत्कालिन गृहमन्त्रीबाट हटेको ५/६ दिन पछि मसँग भेट गरी प्रस्ताव गर्दा मैले र साथीहरुसँग ऋण खोजेर दिएको रकम हो, सम्पूर्ण रकम चाहियो भन्दा माथि उल्लिखित मानिसहरुसँग कुरा गरी खबर गर्छु भनी हालसम्म रकम फिर्ता नदिई पीडित बनाई ठगी गरेको र हाल झुटा मुद्दा लगाई थुनामा राखेको हुँदा सम्पूर्ण रकम फिर्ता गरी झुटा मुद्दाबाट सफाइ पाउँ भन्ने प्रतिवादी केशवप्रसाद दुलालले गरेको थप बयान कागज !


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083