रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षकको नेतृत्वमा सुरक्षा योजना सार्वजनिक
वि.सं.२०८० असोज २६ शुक्रवार २३:१७
shares

भैरहवा । दशैं, तिहार एवम् छठ पर्व लक्षित गरि रुपन्देहीमा १ हजार २९ जना प्रहरी परिचालन गरिने भएको छ । शुक्रबार रुपन्देही प्रहरीले चाड पर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलनको आयोजना गर्दै सुरक्षा योजना सार्वजनिक गरिएको हो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर विकको नेतृत्वमा रहने गरी सुरक्षा योजना सार्वजनिक गरिएको हो ।
प्रहरीको सुरक्षा योजनामा सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप मजबुत पार्नेदेखि वित्तीय कारोबार बढी हुने बैंक–वित्तीय संस्था र सुनचाँदी पसलहरुमा विशेष निगरानी राख्नेसम्म समावेश छन् ।पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) विकले चाडपर्वको समयमा अपराधिक क्रियाकलापहरु चोरी–तस्करी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झैझगडा हुनसक्ने भन्दै यस्तालाई निस्तेज पार्न विशेष योजना बनाइएको जानकारी दिए ।
“परदेशबाट आ–आफ्नो घर फर्कने क्रममा सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने, सवारी दुर्घटना, पर्वकै मौकामा चोरी–तस्करी हुने र अवैध हातहतियार एवं लागूऔषध ओसारपसार गर्ने काम हुनसक्छ”, एसपी विकले भने, “यस्ता कार्य रोक्न प्रहरी सक्षम छ, हामी चौबीसैं घण्टा आमनागरिकलाई सुरक्षा दिन लागेका छौं । त्यसैले अवैध गतिविधि गर्नेहरु प्रहरी कारबाहीमा पर्छन्।”
उनले पर्वको मौकामा पटका पड्काउने, आतिसबाजी गर्ने, विभिन्न समूहले देउसीभैलो तथा अन्य सांस्कृतिक कार्यक्रमहरुको नाममा गैरक्रियाकलाप गर्ने लगायतका गतिविधि हुनसक्ने भएकाले त्यस्ता क्रियाकलापलाई नियन्त्रण एवं न्युनीकरण गरी जिल्लाको शान्ति सुरक्षाको स्थितिलाई मजबुत राख्न सुरक्षा रणनीति बनाएर काम गरेको जनाए । “विगतमा पर्वहरुको अवसरमा विभिन्न प्रकृतिका घटनाहरु घटेका छन्, दुर्घटनाहरु भएका छन्”, उनले भने, “यसपटक कुनै किसिमका अवैध गतिविधि हुन नदिन प्रहरी सक्रिय रहन्छ ।” प्रहरीका अनुसार सामान्य अवस्थामा भन्दा पर्व लक्षित गरी सुरक्षाकर्मी बढाइएको छ । एसपी विकका अनुसार पर्व लक्षित गरी जिल्लाभर १ हजार २९ जना प्रहरी परिचालन गरिनेछ ।
जिल्लाभर ४३ वटा पिकेट परिचालन हुनेछ । यस्तै, २४ सैं घण्टा १८ वटा समूहमा प्रहरीको पैदल गस्ती हुनेछ भने ५० वटा मोटरसाइकलमा भिन्नभिन्न ठाउँमा गस्ती हुनेछ । यस्ता गस्ती टोलीले बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल एवं आर्थिक कारोबार बढी हुने ठाउँमा निगरानी बढी मात्रामा गर्नेछन् । गाडी मोबाइल, क्यूआरटी परिचालन तथा चेकिङ गरिनेछ । पूर्व–पश्चिम र हुलाकी राजमार्गमा विशेष चेकजाँचका लागि १० वटा टोली परिचालन हुनेछन् । बुटवल आसपासमा एउटा आरएससीसी चेकिङलाई नियमति गरिनेछ । “बेलहिया नाका, भैरहवा र बुटवल बसपार्क, लुम्बिनी पर्साचोक र कालीदह नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ती ठाउँबाट निरन्तर रुपमा नागरिकलाई सहायता प्रदान गरिनेछ”, प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले भने, “नागरिकलाई भयरहित वातावरणमा पर्व मनाउने वातावरण सिर्जना गर्न प्रहरी रातदिन खट्नेछ । ” जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बुटवलबाट गरी ४० जना रिर्जव तथा स्टाइकिङ रहनेछ ।
नियमित ट्राफिक सहितको संयुक्त चेकिङ (मापसे) १९ ठाउँमा गरिने प्रहरीको सुरक्षा योजनामा उल्लेख छ । सीमा क्षेत्रबाट हुनसक्ने चोरीतस्करी रोक्न २४ वटा युनिट परिचालन हुनेछन् । कर्डन एण्ड सर्च तथा एम्बुस १७ स्थानमा परिचालन गरिने छ । जिल्ला प्रशासनसँग समन्वय गरी बुटवल र भैरहवामा २ वटा टिममार्फत् बजार अनुगमन नियमित गरिने छ । तत्काल परिचालन हुने आकस्मिक सभा, जुलुस, धर्ना, बन्द, चक्काजाम, र कोणसभामा ५८ जनाको टोली परिचालन गरिने सुरक्षा योजनामा उल्लेख छ । यो सुरक्षा योजना असोज २८ गते घटस्थापनादेखि छठ पर्वसम्म रहने प्रहरीले जनाएको छ ।













