प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा जिल्ला प्रहरी कार्यालय बाजुरामा नवनिर्मित भवनहरू उद्‍घाटन

6.77K
shares

बाजुरा । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरमा नवनिर्मित कार्यालय, निवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।

कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप उर्जामय, नविन सोच र उच्चस्तरको हुनुपर्ने चर्चा गर्दै नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यवसायिकताको साथ प्रस्तुत हुनुपर्ने बताउनुभयो । नागरिकमैत्री, सेवामुखी भावका साथ सम्पूर्ण स्थानीयवासीहरूले भय र त्रासरहित वातावरणमा आ-आफ्नो दैनिक क्रियाकलाप, उद्योग, व्यापार, रोजगार तथा व्यवसाय गर्न पाउने वातावरण निर्माणमा अहोरात्र कटिबद्ध रहन उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने उच्श्रृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरीतका गैरकानूनी र अनैतिक कार्य गर्ने विरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै किसिमको दवाव र प्रभावमा नपरी शून्य सहनशिलताका साथ कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । नागरिकसँगको उचित समन्वय र सहकार्यमा कानून विपरीतका गतिविधि नियन्त्रण गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्दै स्थानीय जनसमुदायलाई प्रहरीसँग निरन्तर समन्वय, सहकार्यको लागि उहाँले आग्रह समेत गर्नुभयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल र बडिमालिका नगरपालिकाका प्रमुख अम्मर खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव उपरीक्षक सुमन दाहालले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल ८ करोड ७६ लाख ६७ हजार ६ सय ६४ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

यसैगरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामायिक विषयमा आवश्यक निर्देशन समेत दिनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083