राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८ औं बार्षिकोत्सव सम्पन्न (तस्बिरमा हेर्नुस् )
वि.सं.२०८० माघ २९ सोमवार २०:०१
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६८ औं बार्षिकोत्सव प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएकाे छ ।
उक्त अवसरमा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक उमेश राज जोशिले प्रमुख अतिथि लगायत समारोहमा उपस्थित सम्पूर्ण अतिथि महानुभावहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परिवारको तर्फबाट हार्दिक स्वागत गर्दै बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा प्रशिक्षण केन्द्रले उत्पादन गरेका जनशक्तिको कार्यसम्पादन शैली नै नेपाल प्रहरीको वास्तविक ऐना हुने भएकाले संगठनको गरिमामय ईतिहासलाई अझै दर्बिलो खम्बा बनि माथि उठाउन सक्ने जनशक्तिको निर्माणमा यो प्रशिक्षण केन्द्र सँधै लागिरहनेछ भन्ने कुरा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानवाट प्रकाशित बार्षिक पत्रिका “प्रेरणा-२०८०” को लोकार्पण गर्नुका साथै नेपाल प्रहरीको बार्षिक तालिम क्यालेण्डर अनुसारका प्रशिक्षण गतिविधिलाई व्यवस्थित तथा प्रभावकारी रुपमा सञ्चालन गरी व्यावसायिक एवम् दक्ष जनशक्ति उत्पादन गर्न पु-याएको योगदानको कदर गर्दै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरालाई यो बर्षको उत्कृष्ट प्रहरी तालिम केन्द्रको रुपमा छनौट गरी प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो भने उक्त तालिम केन्द्रका समादेशक प्रहरी बरीष्ठ उपरीक्षक अरुण पौडेलले प्रशंसा-पत्र ग्रहण गर्नु भएको थियो ।
त्यस्तै प्रमुख अतिथिबाट प्रशिक्षण केन्द्र लगायत नेपाल प्रहरीका बिभिन्न प्रहरी ईकाईमा लामो समय सेवा गरी दक्ष जनशक्तिको उत्पादन तथा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा अवकास प्राप्त प्रहरी नायब निरीक्षक ईन्द्र प्रसाद तिवारीलाई नगद रु २५,०००।– सहित Life Time Achievement Award बाट सम्मान गर्नु भएको थियो ।
यसैगरी प्रमुख अतिथिले प्रतिष्ठानका खेलकुद गतिविधिमा सहयोग तथा सहकार्य गर्ने केल्मी नेपाल प्रा.लि. दरवारमार्गका प्रबन्ध निर्देशक उत्तम न्यौपानेलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो भने उक्त कार्यक्रममा रस्साकसी खेलका विजेता तथा उपविजेतालाई पुरस्कार तथा प्रशंसापत्र समेत प्रदान गर्नु भएको थियो ।


कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयको तर्फबाट मनोरम सांगितिक प्रस्तुती रहेको थियो भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका बिभिन्न खेलाडि टोली तथा प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलको टोलीले मार्चपास प्रस्तुत गर्नुका साथै प्रमुख अतिथिमा सलामी अर्पण गरेका थिए ।
प्रमुख अतिथिबाट मन्तव्य राख्ने क्रममा बिद्यमान चुनौतिहरुको सामना गर्न सक्ने दक्ष एवं व्यवसायिक प्रहरी जनशक्ति उत्पादनमा प्रशिक्षण केन्द्रहरुको भुमिका महत्वपूर्ण हुने भएकाले राष्ट्रले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्न सक्ने दक्ष र योग्य मानवस्रोतको उत्पादन तर्फ प्रशिक्षण केन्द्रहरु सदैव संवेदनशिल हुन जरुरी रहेको कुरा बताउनु भयो ।
नागरिक प्रति उत्तरदायी, मानवअधिकार प्रति संबेदनशिल, निष्पक्ष, व्यवसायिक एवं कानुनी राज्यको अवधारणा प्रति प्रतिवद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरी बीचको सम्बन्धलाई थप उचाईमा पुर्याउन सम्भब हुने भएकाले प्रशिक्षण केन्द्रहरुले सदैव संवेदनशिल भई आधुनिक प्रशिक्षण बिधिका आयामहरुलाई अंगिकार गर्दै प्रभावकारी रुपमा प्रशिक्षण गतिविधि सञ्चालन गर्न आवश्यक निर्देशन दिनुहुँदै बार्षिकोत्सवको अवसरमा प्रतिष्ठानलाई शुभकामना समेत व्यक्त गर्नु भयो ।

त्यस्तै धन्यवाद मन्तव्य राख्ने क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सन्दिप भण्डारीले हरेक प्रहरी अधिकृतहरुको व्यावसायिक जीवनको उद्गमस्थल तथा पहिलो पाठशालाको रुपमा रहेको यस ऐतिहासिक स्थलले हाम्रो व्यक्तित्व तथा प्रहरी व्यावसायिकता निर्माण गरेको र सदैव नागरिक सेवामा समर्पित रहिरहन प्रेरणा प्रदान गरिरहेको कुरा उल्लेख गर्नुभयो ।
बिद्याको मन्दिरको रुपमा रहेको यस प्रतिष्ठानको बसाई, भोगाई र सिकाईले प्रत्येक प्रहरी अधिकृतलाई पाईला-पाईलामा प्रशस्त मार्गनिर्देशन गर्नुका साथै पेशागत रुपमा दत्तचित्त भई अगाडी बढीरहन सदैव प्रेरित गरिरहेको कुरा बताउनु भयो ।
साथै मन्तव्यका क्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथी, आमन्त्रित अतिथिहरु लगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै बार्षिकोत्सवलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग, समन्वय तथा सहकार्य गर्नुहुने सम्पूर्णलाई कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
(तस्बिरमा हेर्नुस् )


















