१ करोड भन्दा बढीका सामान चोरी गर्ने २ जना पक्राउ

3.25K
shares

काठमाडौं । जेठ ११ गते पोखरा महानगरपालिका वडा नं. १७ घारिपाटनमा घरको ढोका फुटाएर १ करोड भन्दा बढी मूल्यका सामान चोरी गर्ने दुईजना पक्राउ परेका छन् ।

चोरीमा संलग्नको आरोपमा पोखरा महानगरपालिका वडा नं. २२ का २१ वर्षीय नविन नेपाली र गोरखा घर भई पोखरा महानगरपालिका वडा नं.०४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगर सोमबार पक्राउ परेका हुन् ।

उनीहरूले लक्ष्मीकान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्ण पौडेलको कोठाको ढोका फुटाएर ४२ तोला सुनका गहना, मोबाइल, ल्यापटप, क्यामेरा लगायत सामान चोरी गरेका थिए ।

त्यस्तै नगद ३ लाख ८० हजार गरेर १ करोड भन्दा बढीका सरसामान चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट २४ तोलाका सुनका गहना, २२ वटा मोबाइल, ९ वटा क्यामेरा, १५ वटा ल्यापटप, ११ वटा घडी, दुई वटा ड्रोन, दुई वटा वाकीटकी लगायत समान बरामद गरेको छ ।

उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।