एनएमएको अध्यक्षमा कुल बहादुर गुरुङद्वारा दाबी, पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा उकास्ने प्रतिबद्धता

4.91K
shares

 

काठमाडौं। नेपाल पर्वतारोहण संघ (NMA) को आसन्न निर्वाचनलाई लक्षित गर्दै कुल बहादुर गुरुङले संघको अध्यक्ष पदमा औपचारिक दाबी प्रस्तुत गरेका छन् । लामो समयदेखि पर्वतीय पर्यटन तथा पर्वतारोहण क्षेत्रको प्रवर्द्धनमा क्रियाशील गुरुङले पर्यटन क्षेत्रको समग्र सुधार र अन्तर्राष्ट्रिय पहिचान स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एनएमएमा एक कार्यकाल महासचिव पद समेत खाइसकेका गुरुङले दाबी पेश गर्दै भने, “नेपालको पर्वतीय पर्यटनको दिगो विकास, श्रमिक तथा व्यवसायीको हकहितको संरक्षण र संस्थागत सुधारका लागि मेरो उम्मेदवारी हो । म अनुभव, कार्यदक्षता र साझा नेतृत्वमार्फत NMA लाई अझ प्रभावशाली र उत्तरदायी बनाउनेछु ।”
गुरुङ पर्यटन क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय छन् । उनले देश तथा विदेशमा नेपालका हिमाली सम्भावनाहरूलाई चिनाउने अभियान, पर्वतारोहणको सुरक्षित व्यवस्थापन तथा सम्बन्धित समुदायको सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

उनको उम्मेदवारीले पर्यटन व्यवसायी, गाइड, आरोही सहयोगी (Sherpa), र अन्य सरोकारवाला पक्षहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ । धेरैले उनी नेतृत्वमा आएमा संघले पारदर्शिता, नवीन रणनीति र सहकार्यको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् ।

संघको निर्वाचन यहि भाद्र ८ गते सम्पन्न हुने कार्यक्रम रहेको छ । उम्मेदवारबीचको प्रतिस्पर्धा चर्किंदै जाँदा, कुल बहादुर गुरुङको दाबीले निर्वाचनको केन्द्रमा व्यापक चासो र छलफल सिर्जना गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083