“खेलाडीहरूको प्रस्तुतीसँगै नेपालीको पहिचान झल्किनुपर्छ” : वासुदेव घिमिरे
वि.सं.२०८२ माघ १३ मंगलवार १०:१८
shares

रुपन्देही ।रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार वासुदेव घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले खेल प्रदर्शनसँगै देशको गरिमा उच्च राख्ने खालको प्रस्तुती दिनुपर्ने बताएका छन् । मंगलबार ९ औँ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप–२०२६ मा सहभागी हुन भारत प्रस्थान गर्ने कराते खेलाडीहरूको बिदाइ तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
घिमिरेले भने, “खेलाडीहरूको प्रस्तुतीसँगै नेपालीको पहिचानलाई सकारात्मक प्रभाव पार्ने गरी उपस्थिती जनाउनु होला । खेल केवल जित–हार मात्र होइन, यो देश चिनाउने सशक्त माध्यम पनि हो ।”
२२ कराते खेलाडी मंगलबार बिहानै रुपन्देहीको बेलहिया नाका हुँदै भारततर्फ प्रस्थान गरेका हुन् । भारतको पट्नामा माघ १६ देखि १८ गतेसम्म आयोजना हुने प्रतियोगितामा उनीहरूले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले खेलाडीहरूलाई हार–जितको दबाबमा नपरी प्रतियोगितालाई सिकाइ र अनुभवको अवसरका रूपमा लिन आग्रह गर्नुभयो । उहाँले खेलले अनुशासन, आत्मविश्वास र अन्तर्राष्ट्रिय मित्रता विस्तार गर्न सहयोग गर्ने उल्लेख गर्नुभयो ।
तिलोत्तमा डोजोका अध्यक्ष सन्तु डंगोरिया थारुले उक्त प्रतियोगितामा विश्वका १२ देशका खेलाडीहरूको सहभागिता रहने जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्, नेपाल कराते महासंघ, तथा नेपाल सितोरियो कराते संघ तिलोत्तमा रुपन्देहीको आयोजनामा अन्तर्राष्ट्रिय कराते खेलाडी बिदाइ कार्यक्रम सम्पन्न भएको हो । विगतका वर्षहरूमा पनि नेपाली खेलाडीहरूले यस प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । प्रतियोगिताको आयोजना युनाइटेड सोतोकन कराते–डो इन्डिया र माहिरा सोतोकन कराते–डो इन्डियाले गरेको हो ।






























