गाउँमा जनताको समर्थनले उत्साहित नेकपाको उम्मेदवार !
वि.सं.२०८२ माघ १७ शनिवार २०:३९
shares

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ का उम्मेदवार युवराज दुलाल ‘शरद’ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले जनताको व्यापक समर्थनसहित सहज जित निकाल्ने दाबी गरेका छन्। सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको क्षेत्र नम्बर–२ स्तरीय उम्मेदवार परिचय तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै दुलालले गाउँ–गाउँको जनसम्पर्कपछि जनतामा देखिएको उत्साहले आफूलाई थप जिम्मेवार बनाएको बताए।
‘चुनाव जित्नु ठूलो कुरा होइन,’ दुलालले भने, ‘वर्षौँदेखि जनप्रतिनिधिले काम नगर्दा जनतामा पैदा भएको निराशालाई आशामा बदल्नु नै मेरो मुख्य उद्देश्य हो।’उनले सिन्धुपाल्चोक–२ मा फरक–फरक राजनीतिक विचार राख्ने नागरिकसमेत आफूलाई मत दिने प्रतिबद्धता जनाइरहेको उल्लेख गर्दै भने, ‘अहिले अरू पार्टीका मान्छेले पनि “एक भोट त युवराज दुलाललाई दिनुपर्छ” भनेर भन्न थालेका छन्। यो कुरा खुशीको विषय मात्र होइन, मेरो लागि ठूलो जिम्मेवारी र चुनौती पनि हो।’ दुलालले जनताको दुःख, पीडा र आवश्यकतालाई बुझ्ने नेतृत्वको आवश्यकता औंल्याउँदै राजनीति पद र प्रतिष्ठाका लागि नभई जनताको सेवा र समाज रूपान्तरणका लागि हुनुपर्ने बताए।
उनले शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘अबको नेतृत्वले भाषण होइन, कामबाट जनताको भरोसा जित्नुपर्छ।’ कार्यक्रममा नेकपाका समानुपातिक उम्मेदवारहरू भगवती नेपाल र लालकान्छा तामाङको पनि उपस्थिति रहेको थियो। सहभागीहरूले युवराज दुलालप्रति जनताको विश्वास र आकर्षण तीव्र रूपमा बढ्दै गएको प्रतिक्रिया दिएका थिए।


























