चुनबाङ पुगे प्रचण्ड: “यहीँ बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनायौँ”

2.15K
shares

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ऐतिहासिक चुनबाङ बैठक स्थल पुगेका छन्। नेपाल कम्युनिस्ट पार्टीका संयोजकसमेत रहेका प्रचण्ड प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्वमा मतदाता भेटघाटका क्रममा आज बिहान चुनबाङको भेरीडाँडा पुगेका हुन्।

२०६२ साल असोजमा तत्कालीन माओवादीको केन्द्रीय समिति बैठक चुनबाङमा बसेको थियो। उक्त बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गर्दै संसदवादी दलहरूसँग सहकार्यको बाटो खोलेको थियो। त्यही बैठकले ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा सीमित गरेको थियो, जसलाई माओवादी इतिहासकै निर्णायक मोड मानिन्छ।

चुनबाङ पुगेका प्रचण्डले बैठक स्थल, आफू र पत्नी सीता दाहाल बसेको कोठा, साथै छोरा प्रकाश दाहाल लगायत नेताहरू बसेका स्थानहरूको अवलोकन गरे। पत्नी र छोराबारे सोधिएको प्रश्नमा उनी भावुक बनेका थिए। संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेपाली क्रान्तिमा दुवैको महत्वपूर्ण योगदान रहेको बताए।

मतदाता भेटघाटका क्रममा प्रचण्डले चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ डोर्‍याएको जिकिर गरे। रुकुमलाई क्रान्तिको उद्गमस्थल र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने जिल्लाका रूपमा उल्लेख गर्दै उनले ऐतिहासिक निर्णयहरू यहीँबाट भएको स्मरण गरे।

उनले भने, “यहीँको बैठकबाट १२ बुँदे समझदारी र शान्ति सम्झौताबारे निष्कर्षमा पुगेका थियौँ। यही हलमा बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनायौँ। अर्कोतिर सात दलसँग शान्ति वार्तामा जाने निर्णय पनि यहीँ भयो।”

प्रचण्डले आजै चुनबाङको गैरीगाउँमा मतदाता भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनी विगत तीन दिनदेखि रुकुम पूर्वमा चुनावी अभियानमा सक्रिय छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083