विगतमा गरेको कामको मूल्याङ्कन गरी मतदान गर्न आग्रह : घिमिरे
वि.सं.२०८२ फागुन १२ मंगलवार १९:३५
shares

रुपन्देही ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बासुदेव घिमिरेले मतदातालाई आफ्नो विगतको कार्यसम्पादनको निष्पक्ष मूल्याङ्कन गरेर मतदान गर्न आग्रह गरेका छन्।
“समृद्ध नेपाल : सुखी नेपाली” भन्ने मूल नारालाई आत्मसात गर्दै अघि बढेका घिमिरेले उम्मेदवार–पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आफूले सार्वजनिक जीवनमा निर्वाह गरेका जिम्मेवारी र त्यसक्रममा गरेका कामहरू नै आफ्नो मुख्य एजेन्डा भएको बताएका छन्।
घिमिरे यसअघि तिलोत्तमा नगरपालिका का प्रमुख तथा रुपन्देही निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका रूपमा ३३ महिना कार्यरत रहिसकेका छन्। सो अवधिमा विकास, पूर्वाधार विस्तार र जनसरोकारका विषयमा सक्रिय भूमिका खेलेको उल्लेख गर्दै उनले मतदातालाई तथ्यका आधारमा निर्णय लिन आग्रह गरे।
प्रतिनिधिसभा सदस्य रहँदा उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल को प्रभावकारी सञ्चालन, खुला सीमाना व्यवस्थापन, किसानका लागि मलखाद आपूर्ति सुनिश्चितता लगायतका विषयमा संसद र सम्बन्धित निकायमा निरन्तर आवाज उठाएको बताए।
उनले शिक्षा, स्वास्थ्य, खुला सीमाना, भ्रष्टाचार नियन्त्रण तथा अनियमितता अन्त्य जस्ता मुद्दालाई नीतिगत रूपमा सम्बोधन गर्दै ठोस सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। “जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने मेरो संकल्प हो,” घिमिरेले भने, “विकासलाई गति दिने र सुशासन स्थापित गर्ने दिशामा निरन्तर लागिरहनेछु।”
घिमिरेले समग्र रुपन्देहीको दिगो विकास, रोजगारी सिर्जना र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित आफू निर्वाचन मैदानमा उत्रिएको स्पष्ट पारे। उनले विगतमा गरेका कामहरू नै आफ्नो भरोसाको आधार भएको उल्लेख गर्दै मतदातासँग पुनः अवसरको अपेक्षा व्यक्त गरेका छन्।































