रवि र प्रचण्डबीच टेलिफोन संवाद
बालेनसँग भेट नभएको पुष्टि
वि.सं.२०८२ फागुन २९ शुक्रवार १३:५७
shares

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच टेलिफोन संवाद भएको छ।
प्रचण्ड निकट स्रोतका अनुसार चुनावी परिणाम सार्वजनिक भएपछि दुवै नेताबीच मोबाइल फोनमा कुराकानी भएको हो। संवादका क्रममा उनीहरूले एकअर्कालाई निर्वाचनमा विजय भएकोमा बधाई दिएका थिए।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले पनि रवि र प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको पुष्टि गरेका छन्। उनका अनुसार कुराकानी सामान्य शुभकामना आदान–प्रदानमै सीमित थियो।
“रास्वपा सभापति रविजीसँग मोबाइलमा कुराकानी भएको हो। उहाँहरूले चुनाव जितेकोमा एकअर्कालाई बधाई दिनुभयो, त्यसबाहेक अरु कुनै राजनीतिक विषयमा छलफल भएको छैन,” आचार्यले बताए।
यसअघि प्रचण्ड र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच चुनावपछि भेटघाट भएको भन्ने समाचार सार्वजनिक भएको थियो। तर आचार्यले त्यस्तो भेटघाट वा कुराकानी भएको पुष्टि नभएको बताएका छन्।
उनका अनुसार प्रचण्ड र बालेनबीच पछिल्लो भेट भने बालेनका पिता रामनारायण शाहको निधनपछि समवेदना व्यक्त गर्न प्रचण्ड बालेनको घर पुगेका बेला भएको थियो।
यसैबीच प्रतिनिधिसभा निर्वाचनपछि केपी शर्मा ओली र प्रचण्डबीच पनि पहिलोपटक भेट भएको छ। ओलीका पिता मोहनप्रसाद ओलीलाई श्रद्धाञ्जली दिन प्रचण्ड आज बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेका थिए। सोही क्रममा ओली र प्रचण्डबीच संक्षिप्त भेटवार्ता भएको आचार्यले जानकारी दिए।
आचार्यका अनुसार चुनावपछि गगन थापा सँग भने प्रचण्डको अहिलेसम्म भेटघाट वा कुराकानी भएको छैन।
















