तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यपछि विश्व ऊर्जा बजारमा तनाव

1.72K
shares

मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र समुद्री जहाजहरूलाई लक्षित गर्दै नयाँ ड्रोन तथा क्षेप्यास्त्र आक्रमण सुरु गरेपछि विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ। बिहीबार बिहान मात्रै दुई तेल ट्याङ्करमा आक्रमण भएको केही घण्टामै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लाग्दै प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ।

इरानले खाडी क्षेत्रका छिमेकी देशहरू तथा इजरायलतर्फ नयाँ आक्रमणको लहर चलाएपछि क्षेत्रीय तनाव झनै चर्किएको छ। तेहरानले यो युद्ध लामो समयसम्म चल्न सक्ने चेतावनी दिँदै त्यसले विश्व अर्थतन्त्रलाई गम्भीर रूपमा असर पार्न सक्ने दाबी गरेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अन्ततः पराजयतर्फ उन्मुख भएको दाबी गरेका छन्। तर उनले युद्ध तत्काल अन्त्य नहुने चेतावनी पनि दिएका छन्। अमेरिकाले इरानका पूर्वाधारहरूमा आक्रमण गर्न सक्ने सङ्केत दिँदै त्यसको पुनर्निर्माण गर्न एक पुस्ता लाग्न सक्ने उनले बताएका छन्।

अमेरिका र इजरायलको संलग्नतामा सुरु भएको यो युद्ध विस्तार हुँदै जाँदा उक्त क्षेत्रका विभिन्न देशहरू प्रभावित भएका छन्। लेबनानमा इजरायली आक्रमण तीव्र बनेको छ। त्यहाँका अधिकारीहरूका अनुसार हालसम्म ६३० भन्दा बढी मानिसको मृत्यु भएको छ भने आठ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन्।

खाडी क्षेत्रमा पनि सुरक्षा अवस्था तनावपूर्ण बनेको छ। इरानी आक्रमणपछि बहराइनले बासिन्दाहरूलाई घरभित्रै बस्न र झ्याल बन्द राख्न आग्रह गरेको छ। साउदी अरेबियाले सायबाह तेल क्षेत्रतर्फ गइरहेका ड्रोनहरू रोकिएको जनाएको छ। ओमानको सलालाह बन्दरगाहस्थित इन्धन ट्याङ्कीमा ड्रोन प्रहार भएपछि त्यहाँका केही सञ्चालन अस्थायी रूपमा रोकिएका छन्।

विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने होर्मुज जलडमरूमध्य आसपासका समुद्री मार्गहरू पनि प्रभावित भएका छन्। संयुक्त अरब इमिरेट्स नजिकै एउटा कन्टेनर जहाजलाई अज्ञात प्रक्षेप्यले प्रहार गर्दा सानो आगलागी भएको बेलायती समुद्री सुरक्षा एजेन्सीले जनाएको छ। सबै चालकदल भने सुरक्षित रहेका छन्।

यसअघि इराक नजिक दुई तेल ट्याङ्करमा आक्रमण हुँदा कम्तीमा एक चालक दल सदस्यको मृत्यु भएको र ३८ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। केही सदस्य अझै बेपत्ता रहेको खोजी जारी छ।

विश्लेषकहरूका अनुसार युद्धका कारण होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा अवरुद्ध हुने जोखिम बढेको छ। इरानले खाडीबाट एक थोपा तेल पनि निर्यात हुन नदिने चेतावनी दिएको छ।

यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बजार स्थिर पार्न सदस्य राष्ट्रहरूलाई रणनीतिक भण्डारबाट तेल निकाल्न अनुमति दिएको छ। यसअन्तर्गत ४० करोड ब्यारेल तेल बजारमा पठाउने सहमति भएको छ, जसमा १७ करोड २० लाख ब्यारेल अमेरिकाबाट आउनेछ। तर विश्लेषकहरूका अनुसार लामो द्वन्द्व जारी रहेमा प्रतिब्यारेल ९० देखि १०० डलरसम्मको मूल्य केही समयका लागि नयाँ सामान्य बन्न सक्छ।

युद्धको मानवीय असर पनि तीव्र बन्दै गएको छ। बेरुतमा इजरायली हवाई आक्रमणका कारण आवासीय भवनहरू क्षतिग्रस्त भएका छन् र धेरै स्थानीय बासिन्दा रातभर खुला ठाउँमा बस्न बाध्य भएका छन्।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च ८ सम्म युद्धमा एक हजार २०० भन्दा बढी मानिस मारिएका छन्। इजरायलमा १४ जनाको मृत्यु भएको छ भने खाडी क्षेत्रमा भएका आक्रमणमा ११ नागरिक र सात अमेरिकी सैनिकसहित २४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो युद्धले अमेरिकालाई मात्रै हालसम्म ११ अर्ब ३० करोड डलरभन्दा बढी खर्च गराइसकेको छ।