बेरोजगार व्यक्तिको सूचिमा सूचीकृत हुन सम्बन्धी सूचना

3.35K
shares

भैरहवा ।
सिद्धार्थनगर नगरपालिकाले बेरोजगार व्यक्तिहरूलाई सूचीकृत हुन आह्वान गरेको छ । नगरपालिकाले एक सूचना प्रकाशित गर्दै आगामी आर्थिक वर्षमा सञ्चालन हुने रोजगारीमूलक कार्यक्रमहरूमा सहभागी हुनका लागि बेरोजगार व्यक्तिहरूलाई आफ्नो नाम सूचिमा सूचीकृत गराउन आग्रह गरेको हो । नगरपालिकाद्वारा प्रकाशित सूचनाअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (छ), रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११ को उपदफा (१), रोजगारीको हक सम्बन्धी नियमावली (दोस्रो संशोधन) २०७५ को नियम ७ तथा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ को दफा १४ (३) बमोजिम आगामी आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन हुने रोजगारमूलक कार्यक्रमहरूमा सहभागी हुन बेरोजगार व्यक्तिको सूचिमा सूचीकृत हुन आह्वान गरिएको हो । सूचनाअनुसार १८ वर्ष पूरा भई ५९ वर्ष उमेर ननाघेका बेरोजगार व्यक्तिहरूले आफू स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित २०८२ साल चैत मसान्तसम्म निवेदन पेश गर्न सक्नेछन् । सूचनामा निवेदनका लागि आवश्यक पर्ने कागजातहरू पनि उल्लेख गरिएको छ । जसअनुसार निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कुनै सीपमूलक तालिम लिएको भए सोको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, परिवारका सदस्यहरूको नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि तथा बसाइँसराइ भएको भए सोको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।थप जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा सिद्धार्थनगर नगरपालिकाको रोजगार शाखामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।