डिआइजी खत्रीद्वारा अवकाश प्राप्त डिएसपी गीता चौधरीको फौजी परम्परा अनुसार बिदाइ

130
shares

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) गीता प्रसाद चौधरीलाई उमेरहदका कारण अनिवार्य अवकाश भएपछि फौजी परम्पराअनुसार भव्य समारोहबीच बिदाइ गरिएको छ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी भूपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यमा आयोजित बिदाइ समारोहमा लामो समयसम्म नेपाल प्रहरीमा रहेर कर्तव्यनिष्ठ, अनुशासित तथा जिम्मेवार ढंगले सेवा पुर्‍याउनुभएका डिएसपी चौधरीको योगदानको उच्च प्रशंसा गरिएको थियो। समारोहमा डिएसपी चौधरीलाई माला तथा अबिर लगाउनुका साथै मायाको चिनो प्रदान गरी सम्मानपूर्वक बिदाइ गरिएको थियो।

बिदाइका क्रममा डिएसपी चौधरीले नेपाल प्रहरीमा सेवा गर्दाका अनुभव तथा सम्झनाहरू सहकर्मीहरूमाझ साझा गर्नुभएको थियो। सोही क्रममा उहाँले प्रहरी ह्यान्डसेटमार्फत ‘लास्ट कल’ (Last Call) गर्दै सहकर्मी प्रहरी कर्मचारीलाई अन्तिम सन्देश दिनुभएको थियो।

कार्यक्रममा डिआइजी खत्रीले अवकाश प्राप्त डिएसपी चौधरीलाई मायाको चिनो तथा कदरपत्र प्रदान गर्नुभयो। उहाँले प्रहरी संगठनमा चौधरीले पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै अवकाशपछिको व्यक्तिगत तथा पारिवारिक जीवन सुखद, स्वस्थ, समृद्ध र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

लामो समय प्रहरी सेवामा बिताएर अनिवार्य अवकाश लिनुभएकी चौधरीलाई सहकर्मीहरूले आगामी जीवनका लागि शुभकामना दिँदै भावपूर्ण रूपमा बिदाइ गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083