नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौताराको कार्यदक्षता मूल्याङ्कन तथा निरीक्षण सम्पन्न
वि.सं.२०८३ असोज ९ शुक्रवार १०:१२
shares

तनहुँ । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन–२०८३ अन्तर्गत तनहुँको बेलचौतारास्थित नेपाल प्रहरी विशेष सुरक्षा गणको निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ।नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख एवं नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन–२०८३ समितिका संयोजक एआईजी सिद्धि विक्रम शाहको नेतृत्वमा बिहीबार खटिएको टोलीले गणको निरीक्षण तथा अनुगमन गरेको हो।
निरीक्षणका क्रममा टोलीले गणमा सलामी ग्रहण गर्नुका साथै वृक्षरोपण गरेको थियो। त्यसपछि कार्यालय भवन तथा विभिन्न शाखा, कोत–गारद, ब्यारेक, मेश, चमेना गृह, शौचालयलगायत गण परिसरका विभिन्न संरचनाको निरीक्षण तथा अवलोकन गरिएको थियो।

सो अवसरमा एआईजी शाहले गणमा कार्यरत प्रहरी कर्मचारीलाई वर्तमान परिस्थितिअनुसार संगठनका मूल्य, मान्यता तथा आचारसंहितालाई आत्मसात् गर्दै आफ्नो जिम्मेवारी इमानदारी, अनुशासन र व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए। उनले प्रहरी सेवा प्रवाहलाई थप नागरिकमैत्री र जनमुखी बनाउन विशेष ध्यान दिन आग्रह गर्दै सेवाग्राहीको विश्वास कायम राख्ने गरी कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए।
कार्यदक्षता मूल्याङ्कनका क्रममा गणको समग्र व्यवस्थापन, कार्यसम्पादन, अनुशासन, स्रोत–साधनको प्रयोग तथा प्रहरी सेवाको प्रभावकारितालगायत विभिन्न पक्षको स्थलगत अवलोकन गरिएको जनाइएको छ। नेपाल प्रहरीको कार्यदक्षता मूल्याङ्कन कार्यक्रमले संगठनका विभिन्न इकाइको कार्यसम्पादन, व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाको मूल्याङ्कन गर्दै आवश्यक सुधारका क्षेत्र पहिचान गर्ने उद्देश्य राखेको बताइएको छ।
























