एनआरएनए माल्टाको अध्यक्षमा रोशन गिरी सर्वसम्मत निर्वाचित

1.99K
shares

माल्टामा दुईवटा एनआरएनए गठन भएको अवस्थामा रोजगारीको सिलसिलामा माल्टामा रहेका आप्रवासी नेपालीहरु अन्योलमा रहेका थिए । एनआरएनएको केन्द्रको विवाद मिलेर नयाँ कार्यसमिति बनेपछि माल्टामा पनि दुईवटा एनआरएनएको बीचबाट अध्यक्षको विकल्पमा रोशन गिरीको नै आवश्यक्ताको महसुस गरी भेलाले सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । हिजो माल्टामा दुइवटा एनआरएनए भएको अवस्थामा एकपक्षले अर्कोपक्षको अस्तित्व स्वीकार गर्ने अवस्था थिएन । एकले अर्कोलाई निषेध गर्नेगरी कामगर्दै आएका एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल र सत्यनारायण झा दुबैजना एनआरएनए माल्टाको निवर्तमान अध्यक्षको मान्यतामा रहने सहमती पछि विवादको समाधान गर्दै भेलाले सर्वमान्य रुपमा रोशन गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

एनआरएनए माल्टाका पूर्व अध्यक्ष, निवर्तमान आइसीसी सदस्य, निवर्तमा युरोप सचिव भुवन अर्यालको संयोजकत्वमा वार्ता तथा सहजीकरण समिति बनाई विगत एकवर्ष देखि एनआरएनए माल्टामा देखिएको विवादको समाधान गरी भेलाबाट नयाँ कार्यसमिति निमार्ण गरिएको हो । वार्ता तथा सहजीकरण समितिको सदस्यमा सनिल तामाङ, टिका प्रसाद श्रेष्ठ, रिषीराम काफ्‌ले, कमल पोख्रेल, रहेका थिए । विभिन्न ९ बुँदामा सहमती गरी विवादको समाधान गरिएको थियो । एकता भेलाको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ केन्द्रीय उपाध्यक्ष रामशरण शिमखडा रहेका थिए ।

भेलाले आईसीसी सदस्यमा माल्टाबाट शंकर पोख्रेल र मधु गुरुङलाई सिफारिस गरी पठाएको छ । कार्यसमितिमा क्रमशः उपाध्यक्ष निरज श्रेष्ठ, ललित पाण्डे, बिजय परियार, हरीप्रसाद पौडेल, राजु विश्वकर्मा, ध्रुब पाण्डे, अम्बर बहादुर रावत, युवा उपाध्यक्षमा शयाम कुमार बस्नेतर महिला उपाध्यक्षमा धनु तामाङ निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा बिरोजंग पाण्डे, उप–महासचिवमा किरण बुढाथोकी र समुद्र भट्टराई, सचिवमा क्रमशः भरत अर्याल, रविन्द्र तामाङ, लिलबहादुर बिष्ट, रेशम बहादुर बिक, निरज श्रेष्ठ, एसबी गुरुङ, महिला सचिवमा रीना कार्की, कोषाध्यक्षमा दामोदर लामिछाने र सह–कोषाध्यक्षमा हेमा तामाङ निर्वाचित भएका छन् । कार्यसतिको महिला संयोजकमा नैना गुरुङ, युवा संयोजकमा रोशन तिवारी, सदस्यमा क्रमशः सुभास लामिछाने, प्रकाश बान्तवा राई, दर्शन लिम्बु, दिेनेश ढोली नेपाली, सुस्मा कार्की र दीर्घ सि गुरुङ निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित गिरी एनआरएनए माल्टाको २०१९ मा स्थापना कार्यकालको युवा संयोजक, २०२१ देखि २०२३ को एनआरएनए माल्टाको महासचिव पदमा निर्वाचित भएर सफलतापूर्वक जिम्मेवारी सम्हाली सकेका छन् । २०२३ देखि २०२५ को कार्यकालको लागि निकै कम मतले अध्यक्ष पदमा पराजित भएका गिरी एनआरएनएनए माल्टाको निवर्तमान सल्लाहकारको भूमिकामा रहेर उनले कामगरी सकेका छन् ।

सामाजिक कार्यमा सक्रिय समाजसेवी गिरीले आफू पदमा हुँदा होस या नहुँदा पनि माल्टामा रहेका नेपालीहरुको सुखदुखमा साथ दिदै आएका छन् । माल्टामा नेपालीहरुले आयोजना गर्ने कुनैपनि कार्यक्रम नछुटाउने गिरीले आप्रवासी नेपालीहरुको हीतमा जोडदार रुपमा बोल्ने गरेका छन् । अध्यक्ष पदमा पराजित भएर पनि सामाजिक कार्यमा सक्रिय रहँदै आएका गिरीले पछिल्लो समय माल्टामा रहेका नेपालीहरुको मन जित्दै आएका गएका थिए ।

नेपालको स्याङ्जा जिल्लामा जन्मेर पोखरा लेखनाथ वडा नम्बर ३२ राजाको चौतारी बस्ने २९ वर्षिय गिरी २०१७ मा उच्च शिक्षाको अध्ययनको लागि माल्टा आएका थिए । दुईवर्ष बिजनेश म्यानेजमेन्टको अध्ययन सकेपछि विद्यार्थीबाट कामदार भिषामा परिवर्तन गरेपछि सुरुवाती चरणमा डिसवासरको काम गरेको गिरीले बताए । माल्टामा उनले धेरै तीतो अनुभव पनि भोगेका छन् । त्यतिबेला नेपालीहरु धेरै कम थिए । काम पाउनलाई पनि सजिलो थिएन । तीनरात सडकमा सुतेर बिताएको सम्झदा उनी भावुक बनेका थिए । बसभाडा नहुँदा माल्टाको बिर्किकाराबाट बुजिंब्बासम्म पैदल हिडेर आएको दुखको अनुभव पनि उनले सुनाएका थिए ।

हाउसकिपिङको समेत काम गरेका गिरीले साथीहरुसँग मिलेर २०१९ मा माल्टामा पहिलो नेपाली ग्रोसरी संचालन गरेका थिए । व्यवसाय छोडेर उनले एरबिएनवी संचालन गरेका थिए । सुरुमा एउटा एरबिएनवी भाडामा लिएका उनले अहिले १३ वटा एरबिएनवी अपार्टमेन्ट भाडामा लिएर व्यवसाय संचालन गर्दै आएका छन् । १३ अपार्टमेन्टमध्ये ४ वटा अपार्टमेन्टलाई बुकिङ डटकमले पुरस्कृत समेत गरेको छ ।

२०२६ र २०२७ को कार्यकालको लागि सबैभन्दा कम उमेरको एनआरएनए माल्टाको अध्यक्ष बन्न गिरी सफल भएका छन् । अध्यक्ष भएपछि गिरिले प्राथमिकतामा राखेर माल्टामा घूम्ती राहदानी शिविर संचालन गर्ने बताए । समाजसेवाको भावनाले नेपालीको हीतमा काम गर्ने, माल्टामा रहेका नेपालीहरुको समस्या समाधान गर्ने देखि लिएर विदेशी भूमिमा नेपाल चिनाउने र नेपाल र माल्टा बीचको सम्बन्ध सुदृढ गर्नेगरी सबैसँग समन्वय र सहकार्य गरी कामगर्ने बताउदै सहयोग गर्ने सबैैलाई गिरीले धन्यवाद् दिएका छन् । एबवर्ष देखिको एनआरएनए माल्टाको विवाद समाधान भएर नयाँ कार्यसमिति बनेकामा खुसी लागको भन्दै सबैले सकारात्मक सोचका साथ अगाडी बढ्नु पर्ने एनआरएनए माल्टाका पूर्व अध्यक्ष बाबु अर्यालले बताए ।