डीएसपी विकास बमको नेतृत्वमा ७ वर्ष पुरानो हत्या प्रकरणका, मुख्य योजनाकार ३ जना पक्राउ

715
shares

काठमाडौ  । करिव ७ वर्ष अघि  सरोज भन्ने श्रवण कुमार थापाको हत्या गरेको आरोपमा बर्दिबास प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पूजा थापा (मृतककी श्रीमती), निशा बस्नेत गौतम (मृतककी साली) र आरती बस्नेत (मृतककी साली) रहेका छन्।

घटना के थियो ?

२०७६ असार ३१ गते राति करिब १ बजेतिर बीपी राजमार्ग अन्तर्गत बर्दिबास नजिकको स्मृतिपार्क क्षेत्रमा एउटा स्कुटर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो। प्रदेश–२–०२–००१ प ३०५४ नम्बरको उक्त स्कुटर सडक छेउमै पल्टिएको थियो भने केही तल नालीमा एक पुरुषको शवभेटियो। ती व्यक्ति थिए बर्दिबासका ३६ वर्षीय सरोज भन्ने श्रवण कुमार थापा।

घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक रूपमा यसलाई सामान्य सवारी दुर्घटना मानेर अनुसन्धानअघि बढायो। स्कुटरमा खासै क्षति नदेखिए पनि सरोजको शव नालीमा फेला परेको थियो। प्रहरीले शव उठाएर बर्दिबास स्थित शुभ स्वस्तिक हस्पिटल पठायो, जहाँ गरिएको पोष्टमार्टमले टाउकोमा गम्भीर चोट लागेका कारण मृत्यु भएको निष्कर्ष दियो। त्यसपछि सरोजकी श्रीमतीपूजा थापाले शव बुझेर अन्त्येष्टि गरिन्। घटनाले त्यतिबेला कुनै ठूलो शंका उत्पन्न गरेन, र केस‘दुर्घटना’कै रूपमा बन्दजस्तै भयो तर, यो घटनाको वास्तविकता सतहभन्दा निकै फरक थियो।

सरोजको परिवारले भने सुरुदेखि नै घटनालाई शंकाको दृष्टिले हेरे। उनीहरूको मुख्य प्रश्न थियो ! यदि दुर्घटना हो भने स्कुटर किन लगभग अक्षत छ? र चालकको शव किन सडकभन्दा तलनालीमा पुगेको छ? यी अस्वाभाविक पक्षहरूले परिवारलाई गम्भीर शंका गर्न बाध्य बनायो। विशेष गरी, सरोजकी श्रीमती पूजाको भूमिकामाथि परिवारले औंला उठाउन थाले।

परिवारको दबाबपछि घटनाको पुनः अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली बर्दिबास पुग्यो। सीआईबीले घटनास्थल, पोष्टमार्टम रिपोर्ट र सम्बन्धित व्यक्तिहरूसँगको बयानलाई पुनः विश्लेषण गर्‍यो। यही चरणमा अनुसन्धानले नयाँ मोड लियो।

दुर्घटनाबाट हत्या पुष्टि

सीआईबीको गहिरो अनुसन्धानपछि स्पष्ट भयो – यो साधारण दुर्घटना होइन, योजनाबद्ध हत्या थियो। घटनाको करिब दुई महिनापछि प्रहरीले चार जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेहरूमासर्लाही धनकौल गाउँपालिका–३ का प्रमोद सिंह र मुकेश सिंह, रौतहटका ज्ञीनारायण महरा रनरेश सहनी थिए।

उनीहरूको बयान र प्रमाणका आधारमा सरोजको हत्या ‘सुपारी’ दिएर गराइएको पुष्टि भयो। यस सँगै अनुसन्धानको केन्द्र सरोजकी श्रीमती पूजा थापा र उनको माइती पक्षतर्फ सोझियो।

वैवाहिक सम्बन्ध र हत्या योजना

प्रहरी अनुसन्धानले देखायो कि सरोज र पूजाबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण थियो । दुवैको एक छोरा र एक छोरी भए पनि दाम्पत्य जीवन सुखद थिएन। सरोजले पूजामाथि बारम्बारशंका गर्ने, मानसिक तथा शारीरिक यातना दिने गरेको आरोप छ। यही कारणले पूजामा श्रीमान्‌प्रति वितृष्णा बढ्दै गएको र अन्ततः ‘छुटकारा’को रूपमा हत्या गर्ने योजना बनेकोप्रहरीको निष्कर्ष छ।

पूजाले आफ्नी आमा लक्ष्मी बस्नेत र पाँच दिदीबहिनी—निशा, आरती, सोनी, कोपीला र अनुशासँग मिलेर योजनाबद्ध रूपमा सरोजको हत्या गर्ने निर्णय लिएको अनुसन्धानमा खुलेकोछ।

योजनाबद्ध हत्या कसरी गरियो?

घटनाको राति सरोजलाई औषधि किन्ने बहानामा घरबाट बाहिर निकालियो। उनकी सासू लक्ष्मी बस्नेतले नै मेडिकल जानुपर्ने भन्दै उनलाई साथ लगाइन्। बाटोमै स्मृतिपार्क नजिक पुग्दा, पूजाकी बहिनी निशाले पहिले नै ‘सुपारी’ दिएर राखेका व्यक्तिहरूले सरोजलाई नियन्त्रणमा लिए।

प्रहरीका अनुसार, ती व्यक्तिहरूले सरोजलाई नियन्त्रणमा लिएर टाउकोमा ढुंगाले प्रहार गरीहत्या गरे। हत्या भएपछि घटनालाई दुर्घटनाजस्तो देखाउन स्कुटरलाई सडकमा पल्टाइएको रशवलाई नालीमा फालिएको थियो। त्यसपछि सबै आरोपीहरू फरार भए।

सुपारी, फरार र अन्तर्राष्ट्रिय समन्वय

अनुसन्धानका क्रममा पूजाले प्रमोद सिंहलाई तिन लाख  पचास हजार रुपैयाँ ‘सुपारी’ दिएको खुलेको छ। घटनापछि प्रमोदसहितका व्यक्तिहरू पक्राउ परेपछि आफूहरू पनि फस्ने डरले पूजा, उनकी आमा र पाँचै दिदीबहिनी भारततर्फ भागेका थिए।

वर्षौंसम्म फरार रहेका उनीहरूको खोजी जारी रह्यो। अन्ततः प्रहरीको विशेष टोलीले उनीहरू भारतको गोवामा रहेको सूचना पायो। त्यसपछि नेपाल र भारतका उच्च तहका प्रहरीअधिकारीबीच समन्वय गरी उनीहरूलाई पक्राउ गरी नेपाल ल्याइयो।

हालै इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले मोहत्तरी–३ की ३३ वर्षीया निशा बस्नेत, ३८ वर्षीया पूजा थापा र ३६ वर्षीया आरती बस्नेतलाई बाँके प्रहरीको सहयोगमा नेपाल–भारत सीमाक्षेत्रबाट पक्राउ गरेको हो। अन्य आरोपीहरू—आमा लक्ष्मी बस्नेत तथा बहिनीहरू सोनी, कोपीलार अनुशा अझै फरार छन्।

जेलबाट भागेका मुख्य आरोपी

यस घटनामा संलग्न भनी पक्राउ परेका प्रमोद सिंह, मुकेश सिंह, ज्ञीनारायण महरा र नरेश सहनी भने गत भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा जेलबाट भागेका छन्। यसले घटनालाई अझ जटिल बनाएको छ, किनकि मुख्य कार्यान्वयनकर्ताहरू अझै प्रहरीको पहुँच बाहिर छन्।

नेतृत्व, अनुसन्धान र प्रहरीको भूमिकाः

यो जटिल तथा वर्षौंदेखि लुकेको घटनालाई निष्कर्षमा पुर्‍याउन मधेश प्रदेश प्रहरीको समन्वित प्रयास निर्णायक बन्यो। मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोविन्द थपलियाको प्रत्यक्ष निर्देशनमा अनुसन्धानलाई पुनः सक्रिय बनाइयो। उहाँको रणनीतिक नेतृत्व रअनुसन्धानप्रति देखिएको दृढ प्रतिबद्धताले लामो समयदेखि थामिएको फाइल फेरि जीवित बन्यो।

त्यसै गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेलम्बु शर्माको स्पष्ट निर्देशन, नियमित अनुगमन र अनुसन्धान टिमलाई दिएको प्रोत्साहनले केसलाई व्यवस्थित ढंगले अघि बढाउन मद्दत गर्‍यो।

मैदानस्तरमा भने इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी विकास बमको कमाण्ड अत्यन्तै प्रभावकारी रह्यो। डीएसपी बम एक काबिल, पेशागत रूपमा प्रतिबद्ध र अनुसन्धानमा सूक्ष्म दृष्टिकोण राख्ने प्रहरी अधिकृतका रूपमा चिनिन्छन्। उनले घटनाको प्रत्येक पाटोलाई पुनः खोतल्दै प्रमाण संकलन, सूचनाको विश्लेषण र अन्तर्राष्ट्रिय समन्वयसम्मको कामलाई सशक्त रूपमा अगाडि बढाए।

उनको नेतृत्वमा खटिएको टोलीले वर्षौंदेखि फरार रहेका अभियुक्तहरूको लोकेसन ट्र्याकगर्ने देखि लिएर भारतसम्म पुगेर समन्वय गर्ने काममा उल्लेखनीय सफलता हासिल गर्‍यो। विशेषगरी, प्राविधिक विश्लेषण, मानव स्रोत परिचालन र अन्तर–एजेन्सी सहकार्यलाई प्रभावकारी रूपमा प्रयोग गर्नु डीएसपी बमको कार्यशैलीको विशेषता मानिन्छ।

सात वर्षसम्म ‘दुर्घटना’को रूपमा लिइएको यो घटना अन्ततः जघन्य हत्या भएको पुष्टि हुनुकेवल अनुसन्धानको सफलता मात्र होइन, प्रहरी संगठनको धैर्यता, पेशागत दक्षता र समन्वयक्षमताको उदाहरण पनि हो।

यो प्रकरणले देखाएको छ सत्य केही समय लुके पनि अन्ततः उजागर हुन्छ। न्याय ढिलो हुनसक्छ, तर यदि अनुसन्धान इमानदार र निरन्तर रह्यो भने न्याय अवश्य स्थापित हुन्छ।

प्रहरीले अहिले बाँकी फरार अभियुक्तहरूको खोजीलाई अझ तीव्र बनाएको छ भने पक्राउपरेकामाथि कानुनी प्रक्रिया अघि बढिरहेको छ। यो घटना भविष्यमा अनुसन्धानको एउटा सशक्त उदाहरणका रूपमा समेत रहनेछ।