रवि लामिछानेको सन्देश: “व्यवसायी नडराऊन्, सरकार सहकार्यमै अघि बढ्छ”

377
shares

२० वैशाख ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीतिगत सुधारमार्फत अर्थतन्त्र सुदृढ बनाउने रहेको बताएका हुन्।

उनले सुशासन अभियानलाई द्रुत गतिमा अगाडि बढाइरहेको उल्लेख गर्दै यस क्रममा व्यवसायीहरूसम्म केही प्रश्न वा निगरानी पुग्न सक्ने भए पनि त्यसलाई सकारात्मक रूपमा लिन आग्रह गरे। “सरकारको कुनै पनि व्यवसायीलाई हतोत्साही बनाउने वा व्यवसाय धराशायी बनाउने उद्देश्य छैन,” उनले स्पष्ट पारे।

लामिछानेले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको जनाउँदै अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा भने कडाइका साथ निगरानी गरिने बताए। विगतमा राजनीतिक अस्थिरताका कारण व्यवसायीहरू विभिन्न शक्ति केन्द्रको दबाबमा परेको अवस्थालाई सरकारले बुझेको उल्लेख गर्दै अब त्यस्तो अवस्था अन्त्य हुने विश्वास व्यक्त गरे।

उनले नीतिगत सुधारमार्फत व्यवसायीलाई सुरक्षित वातावरण सिर्जना गरिने बताउँदै आफ्ना कमीकमजोरीको समीक्षा गर्न पनि आग्रह गरे। आन्तरिक लेखापरीक्षणमार्फत पारदर्शिता बढाउन र विगतका कमजोरी सच्याउने प्रक्रियामा राज्यसँग सहकार्य गर्न उनले आह्वान गरे।

लामिछानेका अनुसार वर्तमान सरकार चुनावी वाचापत्रकै आधारमा सञ्चालन भइरहेको छ र त्यसबाट विचलित नहुने प्रतिबद्धता रहेको छ। आर्थिक सुधार, सुशासन र नीतिगत परिवर्तनलाई नै सरकारको मुख्य प्राथमिकता बनाइएको उनले बताए।

उनले अब उद्योगी व्यवसायीहरू समस्या लिएर नेताको घरघर धाउनुपर्ने अवस्था अन्त्य हुने दाबीसमेत गरे।