वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस
वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:४२
shares

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दिउँसो २ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार, मन्त्रिपरिषद्को निर्णयअनुसार अधिवेशन आह्वानका लागि सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको हो।
यसअघि मन्त्रिपरिषद्कै सिफारिसमा वैशाख १७ गतेका लागि संसद् अधिवेशन बोलाइएको थियो। तर, आह्वान भएको भोलिपल्ट नै सरकारकै सिफारिसमा उक्त अधिवेशन स्थगित गरिएको थियो।
अधिवेशन स्थगनपछि सरकारले विभिन्न ८ वटा अध्यादेश जारी गरेको थियो। तीमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले एकपटक फिर्ता पठाए पनि पछि पुनः सिफारिस भएपछि जारी गरिएको छ।
उक्त अध्यादेश जारी भएसँगै सरकारले पुनः संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो।
















