सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : आईजीपी नारायण पौडेल

494
shares

काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो, आधुनिक, उत्तरदायी, प्रविधीमैत्री र परिणाममुखी सुरक्षा संस्थाका रूपमा विकास गरिने बताएका छन्।

महानिरीक्षकको दर्ज्यानी चिह्नबाट शुशोभित भएपछि सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आज पदवाहालीका क्रममा सकल दर्जालाई सम्बोधन गर्दै उहाँले गैरव्यावसायिक आचरण, भ्रष्टाचारजन्य क्रियाकलाप तथा बाह्य प्रभावप्रति शून्य सहनशीलताको नीतिलाई न्यूनतम सर्तका रूपमा कार्यान्वयन गरिने बताए।

महानिरीक्षक पौडेलले अनुशासन, ‘चेन अफ कमाण्ड’ र संस्थागत निष्ठा नै सङ्गठनको आधारशीला रहेको उल्लेख गर्दै साङ्गठनिक हित र व्यावसायिकतामा कुनै सम्झौता नहुने स्पष्ट पारे । सशस्त्र प्रहरी ऐन तथा नियमावलीको समयसापेक्ष परिमार्जनको प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सङ्गठनको आधुनिकीकरण एवं आवश्यक स्रोतसाधनको उपलब्धताका लागि पहल गरिने बताए।

महानिरीक्षक पौडेलले भने, “सङ्गठनलाई आधुनिक, सक्षम र भविष्यमा आइपर्ने चुनौतीको सामना गर्न तयार बनाउने दिशामा केन्द्रित भई तालिम प्रणालीलाई समयसापेक्ष, व्यावहारिक र प्रविधिमैत्री बनाइ ज्ञान मात्र नभई सीप र नेतृत्व क्षमता विकासमा समेत जोड दिइनेछ ।”