स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा २०८३ सालको शैक्षिक वार्षिक क्यालेन्डर विमोचन

स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसद्वारा २०८३ सालको शैक्षिक वार्षिक क्यालेन्डर विमोचन कार्यक्रम

754
shares

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसले २०८३ सालको शैक्षिक वार्षिक क्यालेन्डर विमोचन तथा नयाँ वर्ष २०८३ सालको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। शैक्षिक वार्षिक क्यालेन्डर विमोचन कार्यक्रम आज क्याम्पस प्राङ्गणमा सम्पन्न भएको हो।

कार्यक्रममा स्ववियू अध्यक्ष भूमिराज अधिकारी ले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्राध्यापक  (Management) संकाय विभागीय प्रमुख अर्जुन आचार्य उपस्थित रहेका थिए। कार्यक्रममा अतिथीका रुपमा अतिरिक्त क्रियाकलाप प्रमुख कृष्ण देव यादव तथा प्राध्यापक देव चन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

प्रमुख अतिथि अर्जुन आचार्यले आफ्नो मन्तव्य राख्दै शैक्षिक क्यालेन्डरले विद्यार्थीको अध्ययनलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका थिए। उनले समयअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्न क्यालेन्डर महत्वपूर्ण आधार बन्ने उल्लेख गरे।

त्यसैगरी स्ववियू अध्यक्ष भूमिराज अधिकारीले विद्यार्थीको हकहित, शैक्षिक विकास तथा अतिरिक्त गतिविधिलाई थप प्रभावकारी बनाउन स्ववियू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

स्ववियूले विद्यार्थीको शैक्षिक, सामाजिक तथा अतिरिक्त क्रियाकलापलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यसहित क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ। कार्यक्रममा प्राध्यापक, कर्मचारी, स्ववियू पदाधिकारी तथा सदस्यहरू, विद्यार्थी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।