आज समस्याग्रस्त सहकारीका साना ३७८ जनाबचतकर्तालाई रकम फिर्ता

832
shares

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबार पहिलो दिन तीन वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको हो ।

समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ र पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन् ।

समितिले पहिलो चरणमा कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिएको जनाएको छ । आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः रकम फिर्ता गरिने बताइएको छ ।

समितिका अनुसार समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।

पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । समितिका अनुसार कुल ७६ हजार बचतकर्तामध्ये १८ हजारले मात्रै पाँच लाखभन्दा बढी रकम बचत गरेका छन् ।

प्रतिभा रावलले बचत फिर्ता प्रक्रियासँगै सहकारीहरूको ऋण असुली कार्य पनि तीव्र रूपमा अघि बढाइएको बताइन् ।

उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक हुन थालेपछि ऋण फिर्ता गर्ने क्रम बढेको छ । समितिले हालसम्म २ करोड रुपैयाँभन्दा बढी ऋण असुल भएको जनाएको छ ।

समितिका अनुसार ऋण असुली र बचत फिर्ता प्रक्रिया सँगसँगै अघि बढाइनेछ ।


unigloble collage
baneshwor multiple campus ad -2083