बूढानीलकण्ठ सोसियल युथ क्लबद्वारा निःशुल्क दन्त शिविर आयोजना
वि.सं.२०८३ जेठ १४ बिहीवार १७:१७
shares

काठमाडौं । बूढानीलकण्ठ–१३ स्थित बूढानीलकण्ठ सोसियल युथ क्लबले स्थानीय नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क दन्त स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। क्लबले ओम समाज डेन्टल हस्पिटलसँगको सहकार्यमा आगामी २०८३ साल जेठ १६ गते शनिबार बिहान ७ बजेदेखि गाम्चा फल्चामा शिविर सञ्चालन गर्न लागेको जनाएको छ।
शिविरमा दाँत जाँच, दाँत सफा (स्केलिङ), आवश्यक परे दाँत निकाल्ने, मुख तथा दाँत स्वास्थ्यसम्बन्धी परामर्श लगायतका सेवा निःशुल्क प्रदान गरिने आयोजकले जानकारी दिएको छ। साथै उपचारमा २० प्रतिशत छुट कार्ड समेत उपलब्ध गराइने बताइएको छ।
“स्वस्थ दाँत, स्वस्थ जीवन” भन्ने नारासहित आयोजना हुन लागेको शिविरले स्थानीय बासिन्दालाई दाँत तथा मुख स्वास्थ्यप्रति सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
क्लबका अनुसार पछिल्लो समय दाँतसम्बन्धी समस्या बढ्दै गइरहेको अवस्थामा सर्वसाधारणलाई सहज र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। आयोजकले सम्पूर्ण स्थानीयवासीलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन अनुरोध समेत गरेको छ।






























