चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिँदै ओली

260
shares

जेठ १९, काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्।

एमाले केन्द्रीय संगठन विभागको आयोजनामा जेठ २० र २१ गते काठमाडौंमा हुने दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन अध्यक्ष ओलीले गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ। ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक उक्त कार्यशाला काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुँदैछ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यशाला जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुनेछ। निर्वाचन सम्पन्न भएपछि अध्यक्ष ओली पहिलोपटक कुनै सार्वजनिक पार्टी कार्यक्रममा सहभागी हुन लागेकाले कार्यशालालाई विशेष महत्वका साथ हेरिएको छ।

पार्टीले कार्यशालालाई संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा नवीकरण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रममा देशभरका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहनेछ।

कार्यशालामा पार्टी सदस्यता व्यवस्थापन, संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी दिनका सांगठनिक योजनाबारे छलफल र अभिमुखीकरण गरिने एमालेले जनाएको छ।

एमाले नेतृत्वले कार्यशालामार्फत संगठनलाई थप गतिशील र प्रभावकारी बनाउने तथा आगामी राजनीतिक कार्यदिशाबारे साझा समझदारी विकास गर्ने अपेक्षा गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083