ऐतिहासिक प्रमाणका आधारमा सीमा विवादलाई समाधान गरौँ: रवि लामिछाने
वि.सं.२०८३ जेठ १९ मंगलवार १२:०८
shares

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धमा विश्वास र सहकार्यको वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले सीमा विवादजस्ता संवेदनशील विषयलाई अनन्तकालसम्म लम्ब्याउनुको सट्टा ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
भारतीय दैनिक हिन्दुस्तान टाइम्समा मंगलबार प्रकाशित आफ्नो लेखमार्फत लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक बहसभन्दा माथि उठाएर विकास, लगानी, व्यापार र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने बताएका हुन्।
उनले उग्र राष्ट्रवादी भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गर्ने पुरानो राजनीतिक प्रवृत्तिको आलोचना गर्दै दुवै देशबीचका जटिल विषयहरू संवाद र सहमतिबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
“हामी विगतका कटुताको भारी बोकेर हिँडिरहेका छैनौँ। हाम्रो एकमात्र एजेन्डा नेपालको आर्थिक रूपान्तरण हो,” लामिछानेले लेखमा उल्लेख गरेका छन्।
नेपालमा पछिल्ला वर्षहरूमा भएको राजनीतिक परिवर्तनलाई उनले “मतपेटिकामार्फत आएको शान्तिपूर्ण क्रान्ति” को संज्ञा दिएका छन्। साथै रास्वपाको उदयलाई नयाँ राजनीतिक यथार्थका रूपमा प्रस्तुत गर्दै जनताले विकास, सुशासन र परिणाममुखी राजनीतिलाई रोज्न थालेको बताएका छन्।
लामिछानेले नेपाल र भारत साझा सभ्यता, संस्कृति र जनस्तरको सम्बन्धले जोडिएका साझेदार राष्ट्र भएको उल्लेख गर्दै जनकपुर–अयोध्या, पशुपतिनाथ–केदारनाथ तथा लुम्बिनी–बोधगयाबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेका छन्।
पूर्वाधार विकासका सन्दर्भमा उनले १५० किलोमिटर लामो प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग निर्माणले व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्कमा ऐतिहासिक परिवर्तन ल्याउने बताएका छन्। साथै पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई तथा बेङ्गलुरुसम्म सिधा हवाई उडान सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्।
उनले भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थान आईआईटी र एम्सजस्ता संस्थाहरू नेपालमा स्थापना गर्न सहकार्यको वातावरण बनाउन आग्रह गरेका छन्। त्यस्तै काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर, स्टार्टअप इन्क्युबेसन सेन्टर, फिनटेक र डिजिटल भुक्तानी प्रणालीमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपालको विशाल जलविद्युत् सम्भावना भारतको औद्योगिक विकासका लागि स्वच्छ ऊर्जाको भरपर्दो स्रोत बन्न सक्ने उल्लेख गर्दै उनले एकीकृत ऊर्जा बजार निर्माणमा जोड दिएका छन्। सीमावर्ती क्षेत्रमा रहेका प्रशासनिक अवरोध हटाई आधुनिक डिजिटल एकीकृत जाँच चौकी (आईसीपी) निर्माण गर्नुपर्ने सुझाव पनि दिएका छन्।
पर्यटन प्रवर्द्धनका लागि जनकपुर, लुम्बिनी र बोधगयालाई जोड्ने धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट विकास गर्नुपर्ने उल्लेख गर्दै लामिछानेले नेपाल–भारत सम्बन्धको नयाँ अध्याय आर्थिक साझेदारी, पूर्वाधार विकास र जनस्तरको समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन्।































