एआईजी सुशील सिंह राठौरद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरको निरीक्षण
वि.सं.२०८३ साउन १८ सोमवार २१:१९
shares

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ।
निरीक्षणका क्रममा एआईजी राठौरले विमानस्थल देशको मुख्य प्रवेशद्वार तथा अति संवेदनशील क्षेत्र भएकाले यहाँको सुरक्षा व्यवस्था चुस्त, त्रुटिरहित र भरपर्दो बनाउन निर्देशन दिनुभयो। उहाँले यात्रुहरूको सुरक्षा, विमानस्थलका महत्वपूर्ण उपकरण तथा पूर्वाधारको संरक्षण, र सम्भावित आकस्मिक चुनौतीहरूको प्रभावकारी सामना गर्न नेपाल प्रहरी सधैँ उच्च सतर्कता र तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरे तथा अन्य प्रहरी अधिकृत एवं प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।






















